ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय अंक रहेको छ ।

महासंघले जारी गरेको वरीयताअनुसार जुनियरतर्फ दोस्रो वरीयतामा मलेसियाका जस्टिन होह छन् । उनको नौ हजार पाँच सय ९० अंक रहेको छ ।

यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अंकसहित तेस्रो स्थानमा छन् । फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अंकका साथ चौथो तथा भारतका एस शंकर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अंकसहित पाँचौँ स्थानमा छन् ।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए । उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए । अबको ध्यान वरीयतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *