नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए ।

सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतीक्षा गर्न थाले । त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतीक्षा गरी राखेका थिए ।

मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने । अडर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले । ती व्यक्तिले पनि खाना खान थाले ।

तर, खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो । उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो । खाना खाई सकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

ती व्यक्ति खाना खाएर गएपछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती व्यक्ति धेरै बिरामी देखिन्थे । खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो । पसिना पनि आइरहेको थियो । र उनी साह्रै आत्तिएका देखिन्थे ।

मण्डेलाले भने- तपाईंले सोचेका ती व्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन । वास्तवमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती व्यक्ति त्यो जेलका जेलर थिए ।

मण्डेलाले अगाडि भने- जब उनले मलाई यातना दिन्थे म वेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती व्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे ।

मण्डेलाले फेरि अगाडि भने – अहिले म देशको राष्ट्रपति छु । सायद उसलाई लाग्यो होला उसलाई पनि मैले त्यस्तै व्यवहार गर्नेछु । तर, मेरो चरित्र त्यस्तो छैन । मलाई लाग्छ कि बदलाको भावनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *