प्रत्येक व्यक्तिमा कुनै न कुनै तनाव हुने गर्छ, जसलाई सामान्य मानिन्छ । तर, तनाव व्यवस्थापन गर्न नसक्दा ‘क्रोनिक एन्जाइटी’ हुन सक्छ, जसले मानसिक स्वास्थ्यमा असर पार्नुका साथै शरीरमा समस्या निम्त्याउने गर्छ । सामान्यतः चिन्ताले श्वासप्रश्वासको दर र मुटुको धड्कन बढाउँछ । जसले बिस्तारै दिमागमा हुने रक्तप्रवाहमा प्रभाव पार्न थाल्छ । तनाव बढ्दै जाँदा शारीरिक लक्षणहरू देखापर्न थाल्छन् । सामान्य खालको तनावले टाउको दुख्नेजस्ता लक्षण देखिन सक्छन्, तनावका असरहरू व्यक्तिपिच्छे फरक हुन सक्छन् । तनाव सबै उमेर समूहले भोगिरहेका हुन्छन्, तर युवा वयस्कमा तनावले बढी असर गरिरहेको पाइन्छ ।

नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ अमेरिकाका अनुसार प्रायःजसो पुरुषको तुलनामा महिलामा तनावले बढी स्वास्थ्य समस्या हुने गरेको पाइन्छ । सामान्यतः तनावपूर्ण जीवनशैलीका कारण ‘एन्जाइटी डिसअर्डर’को समस्या हुने गर्छ । यसको लक्षण कतिपयमा तत्काल देखिए पनि धेरैजसोमा लामो समयको अन्तरालपछि देखिन्छन् । यसबाहेक गम्भीर स्वास्थ्य समस्या वा दुर्घटनाका कारण पनि ‘एन्जाइटी डिसअर्डर’ हुने सम्भावना रहन्छ । सामान्य एन्जाइटी डिसअर्डर, सोसियल एन्जाइटी डिसअर्डर, पोस्ट स्ट्रेस ट्रम्याटिक डिसअर्डर, अब्सेसिभ कम्पेक्सिभ डिसअर्डर, फोबिया र प्यानिक डिसअर्डर गरी तनावका कारण ‘क्रोनिक एन्जाइटी’को समस्या हुन सक्छ । चिन्ता तनावको कारण, तनाव व्यवस्थापन गर्न सक्ने क्षमता र स्वास्थ्य अवस्थाका आधारमा व्यक्तिअनुसार फरक असर गरिरहेको हुन्छ ।

केन्द्रीय स्नायु प्रणाली
लामो समयसम्मको चिन्ताले मस्तिष्कमा नियमित तनाव हार्मोन उत्पादन हुन थाल्छ । जसले गर्दा लगातार टाउको दुख्ने, रिंगटा लाग्ने र डिप्रेसनका लक्षणहरू देखिन्छन् । चिन्ता वा तनाव महसुस हँुदा मस्तिष्कले स्नायु प्रणालीमार्फत तनाव हार्मोन र रसायनहरू (एड्रोनालाइन र कोर्टिसल) पठाउँछन् । अत्यधिक तनावका कारण उत्पादन हुने हार्मोनले शरीरमा दीर्घकालीन असर पारिरहेको हुन्छ । जस्तै, कोर्टिसल तनाव हार्मोनले मोटोपनको समस्या निम्त्याउँछ ।

कार्डियोभस्कुलर सिस्टम
एन्जाइटी डिसअर्डरले मुटुको धड्कन बढ्ने, धड्कनमा परिवर्तन आउने र छाती दुख्ने समस्या हुन सक्छ । एन्जाइटीले कार्डियोभस्कुलरमा असर पु¥याउने हुँदा उच्च रक्तचाप र मुटुको समस्या बढाउने जोखिम रहन्छ । पहिलेदेखि नै मुटुमा समस्या भएका व्यक्तिमा कोरोनरी घटनाको जोखिम हुन्छ ।

पाचन प्रणाली
विभिन्न कारणबाट हुने चिन्ताले पाचन प्रक्रियामा समेत असर गरिरहेको हुन्छ । पेट दुख्ने, पखाला लाग्ने, बान्ता हुनेजस्ता समस्या देखापर्छन् । चिन्ताको समस्या बढ्दै गएपछि झाडापखाला र कब्जियतको समस्या हुने गर्छ ।

रोगप्रतिरोधी क्षमता
अत्यधिक तनावका कारण शरीरमा हार्मोनमा परिवर्तन आउने भएकाले शरीरमा असहज महसुस गराउँछ । छोटो समयमै धड्कन र श्वासको दर बढाउने भएकाले दिमागलाई बढी अक्सिजनको आवश्यकता हुन्छ । तनावका कारण शरीरमा आउने परिवर्तनले प्रतिरोधी प्रणालीलाई प्रभाव पारिरहेको हुन्छ । कहिलेकाहीँ तनाव कम हुँदै जाँदा शारीरिक प्रक्रियाहरू पनि परिवर्तन हुँदै जान्छन् । तर, यदि लामो समयसम्म तनाव रहिरह्यो भने यसले स्वास्थ्यमा असर गर्न सुरु गर्छ । जसकारण प्रतिरोधी क्षमता कमजोर हुँदै जान्छ । संक्रामक रोगको जोखिम बढेर जान्छ भने बिस्तारै शरीरमा भ्याक्सिनको असर नदेखिन सक्छ ।

श्वासप्रश्वास प्रणाली
चिन्ताले श्वासप्रश्वासको दरलाई बढाइदिन्छ । सिओपिडीको समस्या भएका व्यक्तिमा यसले बढी असर गरिरहेको हुन्छ । जस्तै, दमका बिरामीमा चिन्ताले क्रोनिक लक्षणहरू देखिने सम्भावना बढेर जान्छ । यसबाहेक टाउको दुखाइ, मांशपेसी दुुखाइ, अनिद्रा, डिप्रेसन, एक्लोपनाजस्ता समस्याका कारक चिन्ता बन्न सक्छ । तसर्थ, तनाव समयमै व्यवस्थापन गर्ने कोसिस गर्नुपर्छ ।
– एजेन्सी

Leave a Reply