काठमाडौ : भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्ममा गीत गाउने भएका छन्। उनले चाइल्ड स्टार अनुभव रेग्मीको लागि गीत गाउँन लागेका हुन्।

यसै साता रेकर्ड गरिने गीतमा स्वर आयुषको रहनेछ भने त्यसमा अनुभव रेग्मी देखिनेछन्। आयुषले अनुभवको अभिनय रहेको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गर्न लागेका हुन्।

विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको फिल्म आउँदो साउन ६ मा रिलिज हुँदैछ। विकासको फिल्मबाट धेरै कलाकारहरुले ब्रेक पाइसकेका छन् र अधिकांस सफल पनि छन्। यसैले गर्दा पनि आयुषको डेब्यु सुखद हुनेमा दुइ मत छैन। फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज दिनेछन।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ। नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्।

फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

Leave a Reply