काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई ३२७ लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

 नेपालका लागि ओपनर रित गौतमले शतक बनाए । उनले नट आउट १३७ बलमा ११५ रनको योगदान दिए । यस्तै, खड्क बोहराले ९० बलमा ९०, कुसल मल्लले नट आउट २३ बलमा ५१ रनको योगदान दिए ।

नेपालका लागि पवन सराफ ४५, कप्तान रोहित पौडेल ७ र विशालविक्रम केसी १ रनमा आउट भए । बलिङमा सिंगापुरका लागि राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट हात पारे ।

किनारारा ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले तीन खेलाडी हेरफेर गरेको थियो । चीन विरुद्धको खेलमा आराम दिएका कुशल मल्ल, विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई आजको खेलको प्लेइङ–११ मा समावेश गरिएको थियो ।   अघिल्लो खेलमा टिममा स्थान पाएका प्रतिस जिसी, कमलसिंह ऐरी र लोकेश बमलाई भने आज बेञ्चमा छन् ।

यदि सिंगापुरलाई हराए नेपाल समूह विजेता बन्नेछ । पहिलो खेलमा चीनविरुद्ध १० विकेटले विजयी भएको नेपाली टिम आत्मविश्वासले भरिएको छ । साथै उक्त जीतसँगै नेपाल सेमिफाइनलमा स्थान बनाउन सफलसमेत भइसकेको छ । समूह ‘ए’ मा रहेको नेपाल अंक तालिकाको शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ ।

हालसम्म नेपाल र सिंगापुरबीच १० पटक खेल भएको छ । जसमा नेपाल ९ खेलमा जीत दर्ता गर्न सफल भएको छ । एक खेल प्रतिकूल मौसमका कारण नतिजाविहीन भएको थियो ।

Leave a Reply