खोटाङ : दूधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पेशा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ। रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित र भुँवाघाटका अधिकांश माझी समुदायको अहिले शहरमा घर तथा घडेरी छ।

सम्पत्ति नजोड्नेले पनि आफ्ना परिवारलाई शहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताए। उनका अनुसार स्थानीय सोम माझी २०४१ सालमा विदेश गएपछि रभुँवाघाटमा बसोबास गर्ने माझी समुदायका युवाले विदेश जाने क्रम शुरु गरेका हुन्।

झण्डै ३४ वर्षयता त्यहाँका अधिकांश माझी युवा वैदेशिक रोजगारीमा संलग्न रहेको पाइएको छ। उच्च शिक्षा हासिल गर्ने अवस्था नभएका माझी समुदायको आर्थिक उपार्जनको एक मात्र विकल्प वैदेशिक रोजगार बनेको हो।

अहिले रभुँवाघाटका माझी समुदायमा वैदेशिक रोजगारीमा नगएका घरपरिवार भेटिन्न। हरेक घरबाट एकदेखि तीन जनासम्म विदेश गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता बाबुराम जोशीले बताए।

विदेशमा पसिना बगाएर कमाएको पैसाले कतिपय माझी युवाले गाउँमै आकर्षक घर बनाएर बसेका छन्। तीन दशकअघिसम्म स–साना झुपडीमा बसोबास गर्ने माझी परिवार पछिल्लो समय जस्ताका छानो हालेर बनाएको चिटिक्क परेको घरमा सोलारको उज्यालो बालेर बस्न थालेका छन्।

हेर्दै उराठ लाग्दो फुस्रो डाँडा रहेको रभुँवाघाटमा पछिल्लो समय खरका छाना भएको घर विस्थापित हुने क्रम तीव्र छ। यसअघि रभुँवाघाटका माझी समुदाय सोही घाटमा डुंगा चलाउँदा प्राप्त हुने घाटे पाथी (अन्न) ज्याला उठाएर र माछा मारेर बेचेको पैसा वा माछासँग साटेको अन्नले जीविका चलाउँदै आएका थिए।

रभुँवाघाटमा जन्मिएर शहरमा बसोबास गरिरहेका माझी परिवार वैशाख पूर्णिमा र फागुन तेस्रो साता गरिने कोशी पूजाका बेलामा मात्र गाउँमा भेला हुने गरेको स्थानीय युवा नेता खेमराज देउसालीले बताए। ‘माझी समुदायका हरेक व्यक्ति अहिले केही न केही पेशामा आवद्ध छन्’, उनले भने, ‘उनीहरु विभिन्न पेशामा आवद्ध भएकै कारण गाउँमा बस्न पाउँदैनन्।’

जिल्लाको लामीडाँडा रभुँवाघाट, घोपाटार, जयरामघाट, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायत सुनकोसी र दूधकोसी किनारमा माझी समुदायको बसोबास छ। लामीडाँडामा मात्र ८७ माझी परिवारको बसोबास छ। तीमध्ये ६२ घर माझी रभुँवाघाटमा रहेको माझी उत्थान सङ्घले जनाएको छ।

आर्थिकरूपमा समृद्ध हुँदै गएको रभुँवाघाटमा माझी समुदायको बाक्लो बस्ती भए पनि आधारभूत तहको विद्यालयसमेत छैन। माझीगाउँमा रावा कक्षा–३ सम्म पढाइ हुने प्रावि मात्र सञ्चालनमा छ।

प्रावि तहको अध्ययन पूरा गरेपछि स्थानीय बालबालिका एक घण्टा उकालो हिँडेर विश्वज्योति मावि जान बाध्य छन्। नजिकमा उच्च शिक्षा आर्जन गर्ने विद्यालय नभएपछि अधिकांशले बीचैमा पढाइ छाड्ने गरेका जनाइएको छ।

गाउँमा शिक्षाको वातावरण सिर्जना गर्न कसैको ध्यान नपुगेको प्रति माझी समुदायको गुनासो छ। वैदेशिक रोजगारीबाट माझी समुदायको आर्थिक उन्नति हुँदै गए पनि शैक्षिकस्तर भने अझै नाजुक छ।

Leave a Reply