काठमाडौं : आठौँ राष्ट्रिय खेलकुल प्रतियोगिता २०७६ बैशाख ५ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गरि वृहत राष्ट्रिय खेलकुदको आठौँ संस्करण २०७६ वैशाख ५ गतेदेखि संञ्चालन हुने जनाएको हो। तर, खेलकुद प्रतियोगितामा समावेश ३५ खेलमध्ये कतिपय खेलहरू चैत २७ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ। प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा हुनेछन्। ३५ खेलका लागि ७ सय ९३ स्वर्ण, ७ सय ९३ रजत र १ हजार १ सय २ कास्य पदकका लागि खेल हुनेछन्।

प्रदेश ५ मा हुने भनिएको प्रतियोगिताको समय तालिका सार्वजनिक भए पनि पूर्वाधारको काम अझै पनि सम्पन्न हुन सकेको छैन। सदस्य सचिव विष्टले नियमित कामको तालिकालाई बढाएर भएपनि खेल सुरु हुनुपूर्व नै पूर्वाधार निर्माणको काम सम्पन्न गरिने भन्दै पूर्वाधारको अभावमा खेल प्रभावित नहुने दाबी गरे।

४३ करोड बजेटको प्रतियोगिताका लागि ३२ करोड ८४ लाख रुपैयाँ निकासा भइसकेको तथा ११ करोड रुपैयाँ निकासा हुन बाँकी रहेको परिषद्ले जनाएको छ। अपुग रकमका लागि अर्थमन्त्रालयसँग पत्राचार भइसकेको परिषद्ले जनाएको छ।

प्रतियोगितामा दर्ता भएका ५ हजार २ सय ११ खेलाडीमा २ हजार ७ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला छन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय ९ सय २२  र स्थानीय ४ सय ७१ गरि १ हजार ३ सय ९३ जना निर्णायकको सहभागिता रहने छ।

प्रतियोगिताको हरेक स्वर्ण विजेता खेलाडीले छुट्टै १० हजार रुपैयाँ पाउने गरेकोमा अब १५ हजार रुपैयाँ पाउनेछन्। यस्तै, सामूहिक स्पर्धा तर्फको विजेताले ५ हजार रुपैयाँ पाउनेछन्। स्वर्ण पदक विजेताले पाउने खर्चमा स्वर्ण तर्फ ५ करोड २८ लाख रुपैयाँ र सामूहिक तर्फ ७९ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै रेकर्ड ब्रेक गर्ने खेलाडीलाई थप २५ हजार रुपैयाँ दिइने छ।

Leave a Reply