बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् ।

बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचारअनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।

उनीहरू लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरूले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।

बेलायतमा कोरोना भाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् ।

बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो । उनीहरूको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो ।

प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षका भएका छन्छभने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।

बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिएका छन् ।

यसैगरी उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटरमार्फत् जोनसनलाई बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *