काठमाडौं : जयबागेश्वरी मन्दिरको पुनःनिर्माणका क्रममा गजुरमुनिको दोस्रो तलामा तीन गजुर भएको छुट्टै मन्दिर फेला परेको छ ।

जयबागेश्वरी तहबिलका पचली नाइके विनोद वैद्यका अनुसार यो तीनवटा गजुर पहिला कहिल्यै देखिएको थिएन । यहाँ जयबागेश्वरीका पुजारी जाने कतै ठाउँ पनि थिएन । मन्दिरभित्रै तीन गजुर भएका देवता छन् भन्ने कसैलाई अत्तोपत्तो नै थिएन । धातुको तीनवटा गजुर भएको यो स्थान मन्दिर पुनःनिर्माणका क्रममा उदाङ्गो भएपछि पुरातत्त्विक क्षेत्रमा पनि यसले हलचल ल्याएको छ ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार मन्दिरभित्र यो प्रकृतिको संरचना आश्चर्यसाथ अध्ययन भइरहेको छ । अध्ययनमा पुरातत्त्व विभागको एक टोली खटिएको छ । सो टोलीले शुक्रबार स्थलगत अध्ययन गर्‍यो, अवलोकनमा आएकाले पनि अनौठो भनेका छन् ।

मन्दिर बनाउँदा इँटा र माटो जोडाइमा पहेंलो माटो प्रयोग हुनलाई मात्र आश्चर्य मानिँदै आएको थियो । “अहिले मन्दिरको गजुरमुनिको भागमा छुट्टै तीन गजुरसहितको मन्दिर पाइनु अनौठो भएको छ”, जयबागेश्वरीका वैद्यराज सुवर्ण वैद्य भन्छन् । मन्दिरको यो अवस्थाको गहन अध्ययन आवश्यक भएको उनको भनाइ छ ।

संस्कृतिप्रेमी नवालीटोल जयबागेश्वरीका पञ्चराम महर्जनका अनुसार “यो मन्दिर सूर्यवंशी राजा शिवदेवले नित्य पूजा चलाएको, कलिगत संवत् ३२३२ मा मन्दिरको प्राणप्रतिष्ठा गरेको र राजा अंशु बर्माले १२ वर्षमा कलेवर फेर्ने व्यवस्था गरेको” भन्ने अभिलेख छ । यहाँ हात्तीको अनुहार हुनुपूर्वको गणेशको मूर्ति रहेकोले यो निकै पहिलेको मन्दिर हो भन्ने अनुमान रहँदै आएको थियो । मन्दिरको गर्भगृहमा भने बागेश्वरी, श्वेतभैरव र गणेशको मूर्ति छ ।

पचली नाइके विनोद वैद्य भन्छन्, “कलेवर फेर्ने, नित्यपूजा, वार्षिक पूजा सबैमा मन्दिरको गर्भगृहमा अर्चना हुने गरेको थियो तर मन्दिरको माथिल्लो तलामा तीन गजुर भएको यस प्रकारको अर्को मन्दिर छ भन्ने कहिल्यै सुनिएकोसम्म थिएन ।” अहिले यहाँ पूजा गर्नेको लस्कर लाग्न थालेको छ ।

सतीप्रथा रहँदा सतीले आफ्ना गहना आभूषण शौभाग्य यहीँ अर्पण गरेर जाने प्रचलन रहेको सुवर्ण वैद्य बताउँछन् । सती जाने क्रममा जंगबहादुर राणाकी रानी गोरखपुरे महारानीले साथमा ल्याएको कोहिनुर हीरा यही मन्दिरको ढुकुटी दाखिला गरेको भनाइ पनि छ तर पुष्टि छैन ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष एवं हाल प्रदेश ३ का सभासदस्य नरोत्तम वैद्यका अनुसार जयबागेश्वरीमा रहेको कोहिनुर हीरा परीक्षणका लागि बेलायत पठाएको भन्ने अभिलेख तहबिलमा छ । उहिल्यै जयबागेश्वरीका साथका धनमाल पशुपतिनाथको मूल ढुकुटीमा थन्क्याइँदा कोहिनुर पनि नाथको ढुकुटीमा पुगेको भन्ने भनाइ पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *