• नानीमैया कटवाल

सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) छ तर, प्रायः रगतको अभाव रहन्छ ।

उपचारार्थ आकस्मिक कक्ष र प्रसूति कक्षमा भर्ना भएका बिरामी रगतका लागि छट्पटाउँछन् । चिकित्सकको आदेशमा बिरामीका आफन्त अस्पताल परिसरमै रहेको रक्त सञ्चार केन्द्र दर्गुछन् । केन्द्रका प्रमुख नवीनकुमार झा भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई ‘फोन डायल’ गरी आग्रह गर्नुहुन्छ – “रगतको अभाव छ । रगतको जरुरी प¥यो सर ।” गणपति र प्रहरी प्रमुखबाट ‘ड्युटी’मा खटिएका सैनिक, प्रहरीलाई बोलावट हुन्छ । मिल्दो रक्त समूह पत्ता लागेपछि उनीहरूलाई ‘ड्युटी’ छाडेर अस्पताल परिसरमा रहेको रक्त सञ्चार केन्द्र पठाइन्छ ।

यसरी रगत अभावका बेला सहज ढङ्गले सेना र प्रहरी आएर रगत दिन थाले पछि रक्त सञ्चार केन्द्र अहिले सेना र प्रहरीको भर पर्न लागेको छ । गत बिहीबार प्रसूति गराउन अस्पताल ल्याइएकी दुई गर्भवती महिलालाई ‘ए नेगेटिभ’ र ‘ए पोजिटिभ’ रगत आवश्यक परे पछि केन्द्रले सेना र प्रहरीसँग गुहार माग्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा उक्त रक्त समूहको रक्तदाता नभेटिएपछि राजविराजस्थित भीमदल गणसँग गुहार लगायो । सेनाका दुई सैनिक जवानले रक्तदान गरी ती दुवै महिलाको ज्यान जोगाए ।

छिन्नमस्ता गाउँपालिका–६ कुपहीका पवन मुखियाकी श्रीमती २८ वर्षीया रामवती मुखियालाई पनि भीम दल गणका अमल्दार माधवराज रानाले रक्तदान गरी ज्यान जोगाउनु भयो । प्रसूति गराउन राजविराजस्थित अनार भूपेन्द्रनाथ हस्पिटल प्रालिमा भर्ना हुनुभएकी मुखियालाई आवश्यक परेको ‘ए पोजेटिभ’ समूहको रगत नभेटिएपछि अमल्दार रानाले उहाँको ज्यान जोगाउन रक्तदान गर्नुभयो । एक पोका रगतले नपुगेपछि गणका अर्का अमल्दार दीपेन्द्रसिंह साउदले अर्को पोका रगत दिनुभयो ।

त्यसअघि कञ्चनरुप नगरपालिका–४ रुपनगर निवासी सुरेशकुमार मेहताकी श्रीमती २९ वर्षीया चम्पाकुमारी मेहतालाई आवश्यक परेको ‘एबी नेगेटिभ’ समूहको रगत गणका राजेन्द्रबहादुर रावलले उपलब्ध गराई ज्यान जोगाउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीले रक्तदाताहरुलाई प्रोत्साहन गर्न नसक्दा र सोधभर्ना नलिई रेडक्रसका पदाधिकारीको सिफारिशमा आफूखुशी रगत बाँड्ने गर्दा रगतको कमी हुँदै आएको स्वयंसेवी रक्तदाताहरु बताउँछन् । संस्थागत रुपमा बेला–बेलामा हुने रक्तदान कार्यक्रममा समेत रगत दिनेहरुको सङ्ख्यामा कमी आएपछि रगतको अभाव हुन थालेको र सेना÷प्रहरीको भर पर्नुपरेको केन्द्रका प्रमुख झाले बताउनुभयो ।

“सिफारिश गर्न लश्करै आफन्तहरु आउँछन् तर, रगत दिन तयार हुँदैनन्, संस्थाहरुले गर्ने रक्तदान कार्यक्रममा समेत थोरै सङ्ख्यामा रगत सङ्कलन हुन्छ,” झाले भन्नुभयो – “नेगेटिभ समूहको रगत पाउन त झनै मुश्किल छ ।” राजगढ गाउँपालिका वडा नं ६ बर्दाहीका गणेश यादवकी श्रीमती २४ वर्षीया ललितादेवी यादवलाई पनि भीम दल गणकै सिपाही टेकबहादुर शाहले रगत दिएर ज्यान जोगाउनु भयो । प्रसूतिका लागि आउनुभएकी यादवको शरीरमा रगतको कमी भएपछि दुर्लभ मानिएको ‘बी नेगेटिभ’ रगत शाहले दिनुभयो । केन्द्रका प्रमुख झाका अनुसार रगत अभाव हुँदा बिरामीलाई जोगाउन सेना र प्रहरीलाई डाक्ने गरिएको र रगतको अभाव पूर्ति गर्ने गरिएको छ ।

रगतको अभाव भएर दिनहुँ रक्त सञ्चार केन्द्रबाट सहयोग माग हुन थालेपछि सशस्त्र प्रहरी बलले रक्तदान कार्यक्रमको आयोजना नै ग¥यो । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगामास्थित सशस्त्र प्रहरी बल ६ नं गणले कार्यालय परिसरमै आयोजना गरेको रक्तदान कार्यक्रममा एक सशस्त्र प्रहरी नायब निरीक्षकसहित ३० सशस्त्र प्रहरी जवानले रक्तदान गर्नुभयो । सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेका अनुसार सशस्त्र प्रहरी बल ६ नं गण गोरगामा, बोर्डर आउट पोष्ट बनैनीया, कडरवोना र सीतापुरमा कार्यरत सशस्त्र प्रहरीहरुले रक्तदान गर्नुभयो ।

सशस्त्र प्रहरी बलको गठनका लागि तत्कालीन संसदबाट पारित भएको ऐनमा लालमोहर लागेको दिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको ६ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताउनुभयो । विसं २०५८ भदौ ९ गते संसदबाट पारित सशस्त्र प्रहरी बलको गठनसम्बन्धी विधेयकमा लालमोहर लागेको थियो भने सोही सालको कात्तिक ७ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो ।

रक्तसञ्चार केन्द्रमा ‘बी पोजेटिभ’ रक्त समूहको आठ पोका रगत मात्र मौज्दात रहेका बेला सशस्त्र प्रहरीले गरेको रक्तदान कार्यक्रमले दुई साताका लागि राहत मिलेको केन्द्रका कर्मचारी भरत यादव बताउनुहुन्छ ।

रक्त सञ्चार केन्द्रको मागअनुसार अहिले सैनिक–प्रहरीले आपत्कालीन रक्तदान गरेर बिरामीहरुको ज्यान जोगाउन थालेका छन् । बिरामीलाई रगत चाहिए चिकित्सक, रक्त सञ्चार केन्द्र र बिरामीका आफन्तहरुले सम्झने नाम नै सेना र प्रहरी बनेको छ । अन्य संस्थाहरुले गर्ने रक्तदान कार्यक्रमहरुमा समेत रगतका लागि सेना र प्रहरीलाई अनिवार्य बोलाइन्छ । खबर गर्न सजिलो र रक्तदानका लागि सहजै तयार हुने भएकाले सोझै नेपाली सेनाको गण र प्रहरी कार्यालयलाई अनुरोध गर्ने गरिएको केन्द्रले जनाएको छ ।

भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले आफ्ना सिपाहीले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाएको दाबी गर्नुभयो । “जस्तोसुकै आपत्विपद् परेका बेला नेपाली सेना जनतालाई सहयोग गर्न तयार छ,” उहाँले भन्नुभयो – “कतैबाट रगत प्राप्त हुन नसके हामी उपलब्ध गराउँछौं ।”

सेनाका साथै प्रहरीले पनि रगत दिएर धेरैको ज्यान बचाएका छन् । अस्पतालमा विशेष गरी सुत्केरी र चोटपटक लागेका बिरामीलाई बढी रगत चढाउनुपर्ने अवस्था निम्तिने गरेको छ । गजेन्द्रनारायण सिंह अस्पतालको सुधारसँगै विशेषज्ञ चिकित्सकहरु थपिए पछि बिरामीको चाप पनि बढेको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा उपचार गर्न आउने बिरामीसँगै सुत्केरी गराउनेहरूको सङ्ख्या बढेको छ । बिरामी बढेपछि उनीहरूलाई रगत चढाउनुपर्ने अवस्था पनि उत्तिकै सङ्ख्यामा बढेको छ । बिरामी बढेसँगै रगतको माग पनि बढेको केन्द्रले जनाएको छ ।

“गण भएकाले प्रायः सबै समूहको रगत फेला पर्ने सम्भावना रहन्छ,” सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भन्नुभयो – “रक्त समूह मिल्ने प्रहरीहरु आफैं रक्तदान गर्न इच्छुक हुने भएकाले सहजै रगत उपलब्ध गराउन सकिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *