• सोमनाथ लामिछाने

मंसिर, २७ । कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ ।

विश्व स्वास्थ्य संगठन, जोन्स हप्किन्स विश्वविद्यालय जस्ता संस्थाले कोरोना संक्रमण र त्यसले पु–याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गरिरहेका छन् । सार्स प्रजातिकै नयाँ कोरोनाभाइरस मानवमा देखिएको झण्डै एक वर्ष पुग्न लागेको छ, र विश्वभर यस भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म झण्डै ७ करोड १४ लाख पुगिसकेको छ भने झण्डै १६ लाख व्यक्तिको भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अझै पनि विश्वभर दैनिक १२ हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।

यो भयावह अवस्था नै हो । हुनत, सन् १९२० को स्पेनिस फ्लुबाट युरोप, अमेरिका सहित विशवभर करिब २ करोडदेखि ५ करोड मानिसको मृत्यु भएको थियो । इबोला, एचआइभी एड्स, सार्स, प्लेग, क्षयरोग जस्ता महामारीले पनि धेरै मानिसको ज्यान लिएकै छन् । तर पछिल्लो पटक तिब्र गतिमा विश्वभर फैलिएको नयाँ कोरोनाभाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र घुमफिर गर्दा वा भेटघाट गर्दा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यो विधि कोरोनाभाइरसको फैलिने क्षमता र प्रकृतिलाई विचार गरी सिफारिस गरिएको हो । अर्कोतर्फ मानिसको भिडभाड रोक्न कैयौं सरकारहरुले निकै कठोर मानिने लकडाउन पनि गरेका थिए, र अझै पनि कतिपय देशमा योक्रम जारी छ । चीनको उहानमा व्यापक रुपमा कोरोना फैलिएको बेला कठोर लकडाउन, उपचार र सचेतना कार्यक्रम चलाइएको थियो ।

तर लकडाउन, सामाजिक दूरी जस्ता उपायले मात्र कोरोनाभाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरुले बताएका छन् । यसका लागि प्रभावकारी उपचार आवश्यक देखिइसकेको छ । तर उपचार त्यति सजिलो भने देखिएको छैन । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरस ठीक गर्न विभिन्न औषधि, खोप र थेरापीको खोज र अनुसन्धानमा तल्लिन छन् । हालसम्मका यी प्रयत्नहरु शरीरमा कोरोनाभाइरसँग लड्न सक्ने एन्टीबडी अर्थात् रोगप्रतिरोधात्मक क्षमता निर्माणमा केन्द्रित देखिएका छन् । हाइड्रोक्सीक्लोरोक्वीन, रेमडेसिभर, एजिथ्रोमाइसिन जस्ता औषधिको प्रयोग एकातिर गरिएको छ भने प्लाज्मा थेरापी पनि उपयोगमा ल्याइएको छ । तर यी दुबै विधि पूर्ण रुपमा सफल नभएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।

यही खोजको क्रममा विश्वका ठुल्ठूला औषधि निर्माता कम्पनी, विश्वविद्यालय र अनुसन्धान संस्थाहरु खोप विकासमा लागेका छन् । अमेरिकी कम्पनी मोडर्ना, अमेरिकी–जर्मन साझेदारीको फाइजर–बायोएनटेक, बेलायतको अस्ट्राजेनिका–अक्सफोर्ड, रुसको स्पुतनिक भी, चीनको सिनोफार्म र क्यानसिनो तथा भारतको सिरोम फर्मास्यूटिकल्स (कोभिसिल्ड) खोप निर्माणमा निकै अगाडि बढिसकेका छन् । फाइजर र मोडर्नाका खोपहरु ९५ प्रतिशतसम्म असरदार रहेको दाबी गरिएको छ । शुरुमै आफ्नो खोप सफल रहेको दाबी गर्ने रुसको स्पुतनिकका बारेमा विस्तृत जानकारीको अभाव रहेको बताइन्छ ।

हाल सर्वाधिक चर्चामा फाइजरकै खोप छ । यस खोपलाई बेलायतको औषधि प्रशासन निकायले मान्यता दिएर आम जनतालाई दिन थालिसकेको छ । पहिलो चरणमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई यो खोप दिन थालिएको छ । फाइजरको खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो । यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले चाँडै अनुमति दिने विश्वास गरिएको छ । बिहीबार मात्र एफडिएमा आबद्ध अमेरिकी विज्ञहरुको समूहले फाइजरको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरिसकेको छ ।

साधारणतया विज्ञको सिफारिस भएपछि एफडिएले खोप अनुमति दिने प्रचलन छ । अमेरिकामा कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढेकाले पनि खोपको अपरिहार्यता बढेको हो । अमेरिकामा तीन दिनको अवधिमा ९ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित अमेरिकामा मृत्यु हुनेको संख्या तीन लाख २ हजार नाघेको छ भने संक्रमितको संख्या पनि झण्डै १ करोड ६३ लाख भइसकेको छ ।

यस्तै कहालीलाग्दो अवस्था ब्राजिल, भारत, मेक्सिको, युरोपेली मुलुकहरु समेतका अन्य मुलुकमा पनि छ । यही परिस्थितिलाई विचार गरी निकै प्रभावकारी मानिएको फाइजरका खोप भित्र्याउन क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले सहमति दिइसकेका छन् । मेक्सिकोमा यही डिसेम्बरको तेस्रो साताबाट खोप लगाउन शुरु गरिने मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले घोषणा गरिसक्नु भएको छ । मेक्सिकोले फाइजरका साथै चीनको क्यानसिनो खोप करिब ३ करोड ५० लाख डोज खरिद गरेको छ । युरोपेली युनियनको औषधि प्रशासन निकायले पनि फाइजर सहित अन्य खोपका बारेमा विचारविमर्श गरिरहेको बिबिसीले जनाएको छ ।

भारतमा सेरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिसिल्ड नामको खोप विकास गरेर अन्तिम क्लिनिकल परीक्षण भइरहेको जनाएको छ । भारत सरकारको अनुमति पाएसँगै यस कम्पनीले करिब ४० करोड डोज खोप भारत सरकारलाई उपलब्ध गराउने सेरमका प्रमुख कार्यकारी अदर पुनावालाले बताउनु भएको छ ।

चीनको सिनोफार्मले विकास गरेको सिनोभ्याकले ८६ प्रतिशतसम्म प्रभावकारी काम गरेको युनाइटेड अरब इमिरेट्स (युएई)को स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएईमा सिनोभ्याकको क्लिनिकल परीक्षण गत जुलाईबाट गरिएको र तथ्याँक विश्लेषणका आधारमा खोप ८६ प्रतिशत असरदार देखिएको युएईको भनाई छ । सिनोफार्मको सिनोभ्याक खोप आम सर्वसाधारणलाई लगाउन इन्डोनेसिया पुगिसकेको छ । जनवरीसम्ममा अरु १८ लाख डोज इन्डोनेसिया पुग्ने इन्डोनेसिया सरकारले जनाएको छ ।

यस्तै टर्की, ब्राजिल र चिलीमा पनि चिनियाँ खोप पठाइएको छ । चीनमा हाल चारवटा कम्पनीले विकास गरेका पाँच किसिमका खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङझेनले दर्जनौं मुलुकले सिनोफार्मका खोप खरिद गर्न अनुरोध गरिरहेको जानकारी दिनुभएको सिएनएनले जनाएको छ । यस कम्पनीमा सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब डोज उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष जिङझेनले बताउनु भएको छ ।

फाइजर र मोडर्नाको तुलनामा सबैजसो चिनियाँ खोपहरु कम चिसोमा राख्न सकिने र त्यसलाई धेरैजसो विकासशील मुलुकहरुमा सहजै आपूर्ति र वितरण गर्न सकिने बताइएको छ । फाइजर (माइनस ७५ डिग्री) र मोडर्ना (माइनस २० डिग्री) को हाराहारीमा राख्नु पर्ने हुन्छ । तर चिनियाँ खोपहरु, भारतको कोभिसिल्ड र अस्ट्राजेनिका–अक्सफोर्डका खोपहरु २ देखि ५ डिग्री सेल्सियसको हाराहारीमा राख्न सकिने छ ।

कोरोनाभाइरस महामारीसँग जुध्न हाल निर्माणको अन्तिम चरणमा रहेका खोपहरु विश्वभरका मुलुकहरुमा सहज र समानुपातिक रुपमा वितरण हुनुपर्ने जिकिर विश्वका नेताहरु र अभियन्ताहरुले जोडदार रुपमा आवाज उठाउन थालेका छन् । बिबिसीका अनुसार अस्ट्राजेनिका–अक्सफोर्ड खोपको मूल्य प्रति डोज ४ डलर, मोडर्नाको ३३ डलर, फाइजर–बायोएनटेकको २० डलर, स्पुतनिकको १० डलर तथा सिनोभ्याकको ३० डलर पर्नेछ । यी खोपहरु २ डोज लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनको अगुवाईमा कोभिड–१९ भ्याक्सिनको विश्वव्यापी पहुँच (कोभाक्स) स्थापना पनि भएको छ जसले कोरोना विरुद्धको खोपलाई विश्वका सबै धनी, गरिब मुलुकमा सहज र सस्तो मूल्यमा उपलब्ध गराउन तथा गरिब राष्ट्रलाई मद्दत गर्न पहल गर्नेछ । तर विश्वका अति गरिब र कोभिड–१९ का कारण अर्थतन्त्रमा निरन्तर संकट व्यहोर्दै आएका मुलुकहरुले यी महंगा खोपमा कहिले र कसरी सहज र समानुपातिक पहुँच हासिल गर्लान् अहिल्यै केही बताउन सकिने अवस्था छैन । (अन्तर्राष्ट्रिय समाचारमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *