काठमाडौं, ९ साउन : काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले गएराति नै पक्राउ गरेको थियो । पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भई डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

आलम डल्लुमा गारमेन्ट सञ्चालन गरेर बस्दै आएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पीडित युवतीका दिदी सोही गारमेन्टमा काम गर्दै आएकी थिइन् । पीडित युवती पवित्रा कार्कीले पनि केही समय सोही गारमेन्टमा काम गरेका कारण उनीहरूको पहिलेदेखि चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अभियुक्त आलमले युवतीलाई आफ्नो प्रभावमा पारेर अनुचित व्यवहार गर्न खोजेको अनुसन्धानबाट देखिएको उनले बताए ।

उनका अनुसार अहिले युवती खतरामुक्त छिन् । यद्यपि, चोट भने गम्भीर रहेको छ । उनको कीर्तिपुरमा उपचार भइरहेको छ । लकडाउन खुलेपछि आपराधिक घटना बढ्न सक्ने भन्दै उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको उनले बताए । नागरिकको सहयोगले मात्रै यस्ता घटनाहरू नियन्त्रण गर्न सकिने भएकाले प्रहरीलाई सहि सूचना दिएर सहयोग गर्न उनले सबैमा आग्रहसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *