सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश-३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रूपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण सुरु गरेका हुन् ।

मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रूपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योनानुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए ।

शुरुआतमा कानूनी कारण समस्या रहे पनि अहिले यो कार्यान्वयन हुन गइरहेको उनको भनाइ छ । केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य शुरु भएको छ । उनले भने, ‘यो काम तीव्रता दिन सबैलाई अनुरोध गर्दछु ।’

मन्त्री नेम्वाङले सङ्घीयतामा गएपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायातलाई व्यवस्थापनको जिम्मेवार दिएको बताए । यातायातलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न तीनै तह तदारुकताको साथ कार्यान्वयन गर्दै अगाडि बढेको उनको भनाइ छ ।

सबै सवारी साधनलाई चुस्तदुरुस्त राख्नका निम्ति त्यसको परीक्षण गर्ने कार्यालय स्थापना भइरहेको उनको भनाइ छ । उनले भने, ‘सातै प्रदेशमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापना गर्ने सरकारको योजना बमोजिम  बुटवल र हेटौँडामा स्थापना भइसकेको छ ।’

मन्त्री फुयाँलले यो नम्बर प्लेटका कारण सामाजिक अपराध कम हुने विश्वास गरे । सो नम्बर प्लेट लिनका लागि पहिले सवारी धनीले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ । विभागको वेवसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाएको छ ।

२ पाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय, ३ पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ । त्यस्तै, ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकार नम्बरप्लेटका लागि विभागमा जानुपर्ने छ ।

सवारी धनीले सो नम्बरप्लेटका लागि तोकिएको बैङ्कमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । २ पाङ्ग्रे सवारी साधनका लागि २ हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि ३ हजार २०० र ठूला सवारीका लागि ३ हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बरप्लेटवापतको रकम जम्मा गरेको बैङ्क भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *