– विनोदसिंह विष्ट

बैतडी, ५ साउन कोरोना सङ्क्रमणको जोखिम सबैलाई हुन्छ र त्योभन्दा बढी स्वास्थ्यकर्मीलाई हुन्छ । तर स्वास्थ्यकर्मी कार्यस्थलमै छन्, नागरिकको सेवा गरिरहेका छन् । कोरोनाको महामारीका कारण विश्व नै अक्रान्त रहेका बेला यसको रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्ति (फ्रन्ट लाइन) मा खटिएका स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।

कोरोना सङ्क्रमण फैलिइरहेका बेला नेपालका कतिपय स्वास्थ्यकर्मी भरपर्दाे स्वास्थ्य सुरक्षा उपकरणविना पनि कार्यस्थलमै खटिए, पछि हटेनन् । उनीहरु घर गएनन्, परिवारबाट अलग्गै बसे र नागरिकको सेवा गरे । यसरी देश महामारीमा रहेका बेला सेवा गरेका नेपालका कैयौँ स्वास्थ्यकर्मीमध्येका एक हुनुहुन्छ बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्ट । गाउँपालिकाको प्रयोगशालामा काम गर्ने दीपकले यस महामारीका समयमा गरेको सेवाको यहाँ सर्वत्र प्रशंसा पनि गरिएको छ । तर उहाँको मनमा भने आफू समाजको हेय दृष्टिको शिकार बन्नुपरेको नमिठो अनुभव छ ।

दीपक एक जना प्रयोगशालाकर्मीका रुपमा कोरोनाको कहरसँगै गाउँपालिकाका आठ ओटा वडाका २४ क्वारेन्टिनमा एक्लैले काम गर्नुभयो । एक्लो व्यक्तिले रातदिन नभनी क्वारेन्टिनमा बसेकाहरुको स्वाब सङ्कलनमा जुट्नुभयो । कोरोना सङ्क्रमणको जोखिम एकातिर थियो भने अर्कोतिर दिनभरको कामको तनाव । उहाँलाई कहिलेकाहीँ त दुर्गम वडामा जाँदा दिनभरको थकानले जागिर छोडिदिउँ जस्तो पनि लाग्थ्यो । तर मानव सेवा गर्ने वाचाले स्वास्थ्य पेशामा प्रवेश गरेकाले त्यो निर्णय गर्न उहाँको मनले मानेन, बरु जस्तोसुकै समस्या परेपनि आफ्नो कर्तव्यलाई नै निरन्तरता दिनुभयो ।

सेवा शुरु गरेको दुई वर्षमात्रै पुगेका दीपकको उमेर हाल २१ वर्ष मात्र हो । यो कलिलो उमेरमै उहाँसँग कोरोनाजस्तो विश्वलाई नै आक्रान्त बनाएको महाव्याधिको नियन्त्रण र रोकथाममा खटेको निकै महत्वपूर्ण अनुभव छ । जुन अरु स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिक तथा सरकारका नीति निर्माताहरुका लागि पनि एक अनुकरणीय उदाहरण हुनसक्छ ।

सेवाका लागि डेराबाट बिहान सबेरै हिँड्नुपर्ने अनि मध्यरातमा मात्र डेरामा पुगिने । यसरी जेखिम लिएर काम गर्ने कर्मचारीलाई गाउँपालिकाले जोखिम भत्ता दिने निर्णय गरेको भए पनि त्यो रकम उहाँले भने अझै पाउनु भएको छैन । “जोखिमभत्ता, सेवासुविधा दिने भनेको छ अहिलेसम्म पाएका छैनौँ”, उहाँ भन्नुहुन्छ । उहाँसँग यो सोच्दै नसोचेको विश्वव्यापी महामारीका विरुद्ध लड्दाका निकै अप्ठ्यारा अनुभवहरु धेरै छन् । भन्नुहुन्छ, “निर्वाधरुपमा काम गर्न पाइएन, आफू सङ्क्रमणबाट जोगिएर काम गर्नुपर्ने, पिपिइ लगाएर १२ घण्टासम्म पनि बसियो त्यो बेला त आफैँ मरिन्छ कि जस्तो लाग्यो, खाने कुराको त कुरै छोडौँ पानी पिउन पनि नमिल्ने ।”

घाममा पिपिइ लगाएर काम गर्न धेरै अप्ठ्यारो भए पनि यो काम गर्नु आफ्नो कर्तव्य ठानेर काम गरेको उहाँको भनाइ छ । “कहिलेकाहीँ एक बोतल पानीको भरमा काम गर्नुप¥यो, दुर्गम वडामा खाना नमिल्ने गर्मीका बेला पाँच घण्टा उकालो चढेरसमेत काम गरेँ”, उहाँले भन्नुभयो, “दुर्गम वडा नं १ को रिम जाँदा खुट्टा नै मर्कियो, खोप लगाएर र पेनकिलर औषधि खाएर काम गरेँ”, उहाँले थप्नुभयो, “क्वारेन्टिनमा बसेका मान्छेको सधैँ गाली खानुपर्ने, मनोबल झनै खस्किने खालका गतिविधि हुने हुँदा काम गर्न निकै समस्या भयो ।”

कोरोना कहर फैलिरहेका बेला पनि दीपकले घरमा समेत क्वारेन्टिन तथा फिल्डमा जान्छु भनेर कहिले भन्नुभएन । घरमा क्वारेन्टिनमा स्वास्थ्य जाँच गर्न जान्छु भनेर आफूले कहिल्यै नभनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरका मान्छेलाइ चिन्ता हुन्छ भनेर केही कुरा भनिन् । घरको मायाले सताएको छ तर पनि घर जान पाइएको छैन । हजुरबुवा बिरामी हुनुहन्छ, बाध्यताले घर जान पाइएको छैन”, उहाँ सुनाउनुहुन्छ ।

गाउँपालिकामा एउटा मात्रै प्रयोगशालाकर्मी हुँदा घर जान नपाएको गुनासो उहाँको रहेको छ । उहाँले भन्नुभयो, “आरडिटी गर्ने र स्वाब सङ्कलन गर्ने अर्को मान्छे नहुँदा समस्या भयो । घर जाउँ भने छरछिमेकीलाई नराम्रो लाग्ला भन्ने डर र अर्कातिर गाउँपालिकाको सबै जिम्मा आफूलाई पनि भयो लाग्यो । हालसम्म आफ्नो समेत पिसिआर टेस्ट गराउन पाएको छैन । आरडिटी गर्दा नेगेटिभ आएको हो ।”

दीपकलाई क्वारेन्टिनमा जाँदा गाउँपालिकामा कार्यरत स्टाफ नर्स रजनी कार्कीले निकै सघाउनुभयो । दीपकले भन्नुभयो, “क्वारेन्टिनमा जाँदा हरेक दिन सँगै गयौँ । रजनी सिस्टरले क्वारेन्टिनमा भएका मान्छेको व्यक्तिगत विवरण राख्ने काम गर्नुहुन्थ्यो ।”

त्यहाँ जाँदा एकातिर मनमा डर हुन्थ्यो भने अर्कोतिर क्वारेन्टिनमा बसेका नागरिक र तिनका घरपरिवार र आफन्तको गाली खाएको नमिठो अनुभव पनि दीपकसँग रहेको छ । वडा नं ७ चडेपानीमा क्वारेन्टिनमा बसेका एक जनाको आरडिटी गर्दा पोजेटिभ देखियो उहाँले भन्नुभयो, “क्वारेन्टिनमा बसेका ती व्यक्तिका आमाले फर्किदा निकै गाली गर्नुभयो, केही बोल्न सकिन सरासर आफ्नो बाटो लागेँ ।”

गाउँपालिकामा हालसम्म ९०० जना भारतबाट भित्रिएका छन् । त्यसले गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको छ । यसका साथै दोगडाकेदारमा ४३ जनामा सङ्क्रमण पुष्टि हुँदा जिल्लाभर २९५ जना सङ्क्रमित पुगेका छन् ।

“भारतबाट आएकाहरूले जोखिम बढाएका छन् सबैको पिसिआर परीक्षण गर्न सकिएको छैन, आफैँलाई कोरोना सर्यो कि जस्तो भइसकेको छ”, ल्याब असिस्टेन्ट विष्टले भन्नुभयो, “कोरोना समुदायस्तरमा गइसक्यो जस्तो लागेको छ, त्यसले काम गर्न समस्या भइरहेको छ ।”

गाउँपालिकाले आरडिटी पोजेटिभ आएकालाई पिसिआर रिपोर्ट नआउँदै घर पठाएको छ, कोरोना पुष्टि भइसकेपछि पनि आइसोलेशनमा ल्याइएको छैन उहाँले भन्नुभयो, “कोरोना पुष्टि भएकालाई घर पठाइँदा झन् जोखिम बढेको छ”, यसका साथै एकपटक पिसिआर परीक्षणमा पोजेटिभ देखिएकालाई पनि दोस्रो परीक्षणविना घर पठाउने गरेकाले काम गर्न झन् डर लागेको उहाँले बताउनुभयो ।

सङ्क्रमण बढिरहेको देख्दा उहाँलाई डरसँगै कहिलेकाहीँ त दिक्क लाग्छ । दिनभर क्वारेन्टिनमा रहेका सर्वसाधारणको स्वास्थ्य अवस्था बुझ्न गइरहनुपर्छ । शुरु शुरुमा क्वारेन्टिनमा जाँदा केही डर नलाग्ने गरेको भए पनि आरडिटी पोजेटिभ आउन थालेपछि भने दीपकलाई क्वारेन्टिन जान पनि डर लाग्न थाल्यो । आरडिटी पोजेटिभ आएपछि स्वाब सङ्कलन गर्नुपर्ने डर थपियो उहाँले भन्नुभयो, “विश्वभर कोरोनाका कारण स्वास्थ्यकर्मी पनि सङ्क्रमित भए मृत्यु भएको खबरले झनै डर लाग्थ्यो, तर मनोबल उच्च राख्दै काम गरँे ।”

गाउँमा डेरागरी बसेका दीपकले क्वारेन्टिनमा बसेका नागरिकको आरडिटी पोजेटिभ आउन थालेसँगै डेरा पनि छोड्नुपर्ने बाध्यता आइलाग्यो । आरडिटी परीक्षण गरेर आउँदा डेरामा पुग्दा छरछिमेकीले नराम्रो दृष्टिकोणले हेर्न थालेको उहाँको गुनासो रहेको छ । क्वारेन्टिनबाट डेरा पुग्दा छरछिमेकीले कोनोना आयो भन्दै जिस्किने, हेप्ने गरे उहाँले भन्नुभयो, “गाउँमा रहेको सामूहिक धाराबाट पानी थाप्नुपर्र्नेे, पानी थाप्दासमेत हाम्रो गाउँमा पनि कोरोना आउछ भनेर हेला गरेँ ।”

क्वारेन्टिनमा बसेका मानिसको आरडिटी पोजेटिभ आएको खबर सुनेपछि गाउँमा बस्ने वातावरण नै भएन उहाँले भन्नुभयो, “हाम्रो घरतिर नआउनु, आएपछि हामीलाई नि कोरोना सर्छ, वृद्धवृद्धा छन बच्चाबच्ची छन्, हामी सबै गाउँलेलाई समस्या पर्न सक्छ भनेर बारम्बार मलाई सुनाइरहे त्यसपछि अब के गर्ने भन्ने समस्या झनै थपियो ।”

डेरामा बस्दा गाउँमा तथा डेरा बाहिर निस्कनसमेत गाह्रो हुने गरेको दीपकको नमीठो अनुभव छ । डेरा बाहिर निस्किँदा ठाउँठाउँमा भेला भएर मेरै कुरा हुने गर्दथ्यो उहाँले भन्नुभयो, “मनोबल बढाउनुको साटो, डेरा सार्नुपर्ने, डेरा नसारे गाउँनै कोरोनाले सखाप हुन्छ भन्ने कुरा गरिरहन्थे । यसरी एकातिर काममा आफैँलाई त्रास छ अर्कातर्फ गाउँलेको पनि तारो हुने अवस्था आयो ।”

यसैकारण दीपकले हाल गाउँबाट डेरा सारिसक्नुभएको छ । डेरामा बस्ने वातावरण नहुँदा स्वास्थ्य शाखा र गाउँपालिकासँग अनुरोध गरेपछि दीपकलाई हाल श्रीकोट स्वास्थ्य चौकीमा आवासको व्यवस्था गरिएको छ । डेरा सारेपछि पनि दुई तीन दिनसम्म गाउँ समाज देखेर निकै तनाव भयो । उहाँले भन्नुभयो, “डेरा सारेपछि पनि त्यही कुरा सम्झेर दुई तीन दिन मनमा निकै तनाव भयो, एकाग्र भएर काम गर्नै सकिन ।”

“पिसिआर परीक्षणमा पोजेटिभ देखिए पनि १४ दिनपछि दोस्रोपल्ट परीक्षण नगरी गाउँपालिकाले सिधै घर पठाउँछ, पोजेटिभ देखिएका कोही रोपाइँमा त कोही मेलापात गरिरहेका छन्”, उहाँको अनुभव छ । गाउँपालिकाले तथा बाहिरबाट आएका सर्वसाधारणलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेको भए पनि रिपोर्ट पोजेटिभ देखिँदासमेत १४ दिनपछि घर जान दिएकाले भाइरस सङ्क्रमण समु्दायस्तरमा जाने खतरा बढेको उहाँको अनुभव छ । अहिले भने स्थानीय बासिन्दाले पनि यही कुरालाई बाहिर ल्याउने गरेका छन् ।

दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रनाथले पिसिआर परीक्षण पोजेटिभ देखिएकालाई १४ दिनसम्म कुनै लक्षण नदेखिएका कारण घर पठाउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पिसिआर परीक्षणमा पोजेटिभ देखिएको तर १४ दिनसम्म कुनै लक्षण नदेखिए मात्रै एक हप्ता होम आइसोलेशनमा बस्ने सर्तमा घर पठाउने गरेका हौँ र गाउँपालिकासँग साधन स्रोतको अभावले पनि घर पठाउन बाध्य भएका हौँ ।”

गाउँपालिकामा भारतबाट आएकामा भाइरसको जोखिम बढी रहेको देखिएको छ । अहिले पनि करिब नौ जना भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका छन् । गत चैत ११ गतेपछि यहाँ आएका ९०० मध्ये ८०० भन्दा बढी घर फर्किसकेका छन् ।

बैतडीमा हालसम्म २९५ जनामा कोरोना पुष्टि भएको छ । यस जिल्लाका प्रायः सबै स्थानीय तहमा कोरोना फैलिएको देखिएको छ । जिल्लाका सबै सङ्क्रमितमध्ये २६५ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये अधिकांशलाई कोरोनाको लक्षण नदेखिएको भन्दै पुनःपरीक्षण नगरी डिस्चार्ज गरिएको हो । सङ्क्रमित ३० जनामात्रै हाल आइसोलेशनमा रहेका छन् ।

कोरोना पुष्टि हुनेमा सबैजना भारतबाट फर्किएका रहेका छन् । यहाँका स्थानीय तहका क्वारेन्टिनमा अझै पनि भारतबाट फर्किएका ५२९ जना रहेका छन् । उनीहरु १४ दिन क्वारेन्टिन अवधि नपुगेका र आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएकाहरु हुन् ।