किरण पौड्याल

इलाम, ३० असार : पछिल्लो समय जिल्लाका अधिकांश किसानले खेतीबालीका साथसाथै व्यावसायिक मौरीपालन शुरु गरेका छन् । खेतीबालीमा जस्तो धेरै खट्नुनपर्ने र कम लगानी गर्दै उल्लेखीय आम्दानी लिन सकिने भएपछि वैकल्पिक व्यवसायका रूपमा किसानले मौरीपालन गर्न थालेका हुन् ।

पछिल्लो समय त झन् स्थानीय सरकार र सङ्घसंस्थाले पनि मौरीपालनसम्बन्धी तालिम र प्रवद्र्धनात्मक कार्यक्रम ल्याएपछि झनै किसान व्यावसायिकरूपमै मौरी पाल्न शुरु गरेका छन् ।

मौरीपालनमा धेरै लगानी र दुःख कष्ट गर्नु नपर्ने भएपछि व्यावसायिकरूपमै मौरी पाल्न शुरु गरेको इलाम नगरपालिका–१० स्थित गोदकका मौरी व्यवसायी भाष्कर भारद्वाज बताउँछन् । उनले मौरीपालन शुरु गर्दा घारमा केही रकम लगानी गर्दा मात्र पुग्ने देखेपछि व्यवसाय शुरु गरेका हुन् ।

“खेतीबालीमा जस्तो खट्नु नपर्ने र सहजरूपमा गर्न सक्ने देखेपछि मौरीपालन थालेको हुँ”, भारद्वाजले भने, “वडा कार्यालयबाट पनि छुटमा मौरीको घार पाएकाले व्यवसायमा झनै सहज भयो । गत वर्ष वडा कार्यालयबाट ५० प्रतिशत छुटमा घार (डुँड) वितरण गरिएको थियो । वडा कार्यालयले प्रवद्र्धनात्मक कार्यक्रम गरेसँगै मौरीपालक व्यवसायीको समेत सङ्ख्या बढेको छ ।” भारद्वाजले अहिले २२ घार मौरी पालेका छन् ।

मेची राजमार्गमा आफ्नो पसल रहेकाले पसलमै मह निकाल्दा बेच्न सकिने भएकाले पनि व्यवसायबाट फाइदा भइरहेको भारद्वाज बताउँछन् । “जङ्गलबाट जे मौरीले ल्याउँछ । त्यहीबाट मह बनाउँछन् । त्यसमा कृत्रिमपन छैन”, भारद्वाज भने, “प्राकृतिक मह पाएपछि हारालुछ शैलीमा बिक्री पनि हुन्छ ।”

मौरीको महलाई घरेलु औषधिका रूपमा प्रयोग गरिनाले यसको माग उच्च छ । थोरै बारी भएका व्यक्तिले पनि मौरीपालन गर्दा प्रशस्त फाइदा लिने भएपछि यसमा लगानी थालेका हुन् । मौरीपालन गर्दा फाट्टफुट्ट आम्दानी भइरहने भएकाले घर खर्च चलाउन सहज हुने गरेको रोङ गाउँपालिकास्थित पहरीगाउँका धनबहादुर सुनुवार बताउँछन् ।

मौरीबाट ‘सिजन’ मा धेरै आम्दानी हुने भएकाले पनि मौरीपालनतर्फ आफू आकर्षित भएको सुनुवारको भनाइ छ । “यसमा खर्चै छैन, डँुड ल्याएर राखिदिँदा आफैँ बस्छ”, सुनुवार भने, “भ्याएको समयमा काढियो भने गाउँमै बिकी पनि हाल्छ ।”

चार आधुनिक घार र दुई पराम्परागत घारमा मौरीपालन गर्नुभएका सुनुवारले मासिक सातदेखि ८ किलो मह बेच्ने गरेका छन् । किलोको १ हजारसम्ममा घरबाटै मह बेच्ने गर्नुभएका सुनुवारले वार्षिक १ लाखसम्म आम्दानी लिन्छन् । “मङ्सिर र जेठको समयमा अलि धेरै पनि आम्दानी हुन्छ । मह बेचेको आम्दानी सबै नाफा हो” उनले भने ।

गाउँपालिका नै जुट्यो मौरीपालन प्रोत्साहनमा

मौरीबाट सहज आम्दानी लिन सकिने बुझेपछि यहाँको रोङ गाउँपालिका कार्यविधि नै बनाएर मौरीपालन प्रोत्साहनमा जुटेको छ । ‘अध्यक्ष मौरी लघु कार्यक्रम’ नामक मौरीपालन कार्यक्रममार्फत किसानलाई गाउँपालिकाले आवश्यक तालीम र सामग्री प्रदान गर्दै आएको छ । मौरी मानव स्वास्थ्य र पर्यावरणसँग पनि सम्बन्धित भएकाले कार्यक्रममार्फत प्रोत्साहनमा जुटेको हो ।

“हाम्रो स्वास्थ्यका लागि मह र पर्यावरण स्वच्छ राख्न मौरी आवश्यक पर्ने भएकाले यसमा लागेका हौँ”, रोङ मौरी विकास केन्द्रका संयोजक कुमार मोक्तानले भने, “हाम्रो क्षेत्र त भौगोलिकरूपमा पनि मौरीका लागि उत्तम क्षेत्र हो । गाउँपालिकालाई नै महमा आत्मनिर्भर बनाउन यो कार्यक्रम चलाएका हौँ ।”

मोक्तानका अनुसार यस कार्यक्रमअन्तर्गत गाउँपालिकाले नै डेढ रोपनी जग्गामा मौरीपालन शुरु गरेको छ भने मौरी व्यवसायीलाई चरणबद्ध अनुदान पनि दिइन्छ । “पहिलो चरणमा तालिम दिएर ५० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराइन्छ, दोस्रो चरणमा ७५ प्रतिशत र तेस्रो चरणमा शतप्रतिशत अनुदान सामग्री र सेवासुविधा दिइने गरएको छ”, मोक्तानले भने ।

गाउँपालिकाले पहिलो चरणको अनुदानमा तालीम सामग्री दिएपछि अनुगमनपछि मौरीपालन उचित तवरले गरिएको पाइएमा मात्र दोस्रो चरणको छुट दिइने गरेको छ । दोस्रो चरणको अनुदान दिएपछि पुनः गाउँपालिकाबाट अनुगमन गर्दा मौरीपालन उचित ढङ्गबाट गरिएमा मात्र अर्को चरणको अनुदान दिने गरिन्छ ।

“हामीले घारदेखि मह झिक्ने मदानीसम्म पनि अनुदानमा दिन्छौँ तर मौरीपालन सन्तुलित किसिमको हुनुपर्‍यो”, मोक्तानले भने । अहिले गाउँपालिकामा १५ देखि १६ मौरी व्यवसायीले दोस्रो चरणको अनुदान पनि लिइसकेका छन् । गाउँपालिकाले मौरीमा अनुदानसँगै महको लक्ष्य पनि राखेको छ ।

महको माग थामिनसक्नु

बजारमा कृत्रिम महको बिगबिगी फैलिएपछि गाउँपालिकाले प्राकृतिक तवरबाट उत्पादन गरेको महको माग थामिनसक्नु छ । महको सिजनमा किन्नका लागि स्थानीयवासी मात्र नभई भारतीय बजारबाट पनि माग आउने गरेको छ । “हामीले वैशाख र जेठमा मात्र छ क्विन्टल मह उत्पादन गरेका थियौँ । त्यो मह असार लाग्दा सकियो” मोक्तानले भने “हामी त यसैलाई आधार बनाएर मौरी पर्यटनसमेत बनाउने तरखरमा लागेका छौँ । मौरी नै हेर्न पर्यटक आउन थालेपछि यसैलाई प्रवद्र्धन गरेर पर्यटनमैत्री बनाउँदैछौँ ।”

मौरीकै लागि गाउँपालिकाले पहिलो चरणमा ८ लाख, दोस्रो वर्ष २० लाख लगानी गरेको छ भने तेस्रो वर्ष पनि १५ लाख विनियोजन गरेको छ ।

जिल्लाका रोङ, माईजोगमाई गाउँपालिका, इलाम, सूर्योदय नगरपालिकामा मौरीपालन हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार इलामका एक हजार ६०० कृषकले मौरीपालन गर्ने गरेका छन् । इलाममा वार्षिक २२ मेट्रिक टन मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *