कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा फेस मास्कको व्यापार खुबै चम्किएको छ ।

कैयन् मुलुकमा आममानिसलाई मास्क लगाउनै पर्ने कडा नियम बनाइएको छ । नेपालमा पनि सरकारले सार्वजनिकस्थलमा जाँदा अनिवार्य मास्क लगाउन, नलगाए जरिवाना गर्ने नीति लिएको छ ।

यस्तोमा मानिसहरुले बजारबाट किनेर वा घरमै बनाएर अनेक खालका मास्क लगाउने गरेका छन् । मास्क अनिवार्य बन्दै गर्दा पछिल्लो समयमा यसले फेसनको रुप लिन थालेको छ ।
भारतको सुरतस्थित १ गहना पसलले हीराजडित मास्क बनाएर बेच्न सुरु गरेको छ ।

यसअघि सुनजडित मास्क बेचिसकेको उक्त गहना पसलले तयार पारेका हीराजडित मास्कको मूल्य डेढ लाख भारुदेखि ४ लाख भारुसम्म तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

गहना पसले दीपक चोक्सीका अनुसार सरकारी निर्देशिकाअनुसार नै मास्क कपडाबाटै बनाइएको हो तर, कपडाको बीच बीचमा सुन र हीरा जडान गरिएको छ ।

पहेँलो सुन र अमेरिकन हीराजडित मास्कको मूल्य डेढ लाख भारु तोकिएको छ । त्यस्तै सेतो सुन र असली हीरा जडित मास्कको मूल्य चाहीँ ४ लाख भारु पर्ने उनी सुनाउँछन् ।

एकजना ग्राहकले घरबाटै गरिने बिहेका क्रममा बेहुला र बेहुलीका लागि विशेष खालको मास्क बनाइदिन आग्रह गरेपछि आफूलाई सुन तथा हिरायुक्त मास्क बनाउने आइडिया आएको पसले दीपकको भनाइ छ ।

ती ग्राहकको मागअनुसार उनले डिजाइनरलाई उपर्युक्त मास्क डिजाइन गर्न लगाए र हिरा तथा सुन जडित मास्कको दुई थान उत्पादन गरे सुरुमा । बेहुला र बेहुलीका लागि बनाएको मास्क खुबै मन पराइएपछि उनले सुन तथा हिराजडित थप मास्क उत्पादन गरेका छन् ।

उनका अनुसार मास्कमा प्रयोग गरिएका सुन तथा हिरा त्यसबाट निकालेर अन्य गहनाका लागि समेत प्रयोग गर्न सकिन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *