श्रीकृष्ण आचार्यभन्दा अगाडि नौ पुस्तासम्मको नाम सूर्योपाध्याय आचार्य, सुनन्दोपाध्याय आचार्य, इन्द्रमणि उपाध्याय आचार्य, विष्णुहरि उपाध्याय आचार्य, मणिकण्ठोपाध्याय आचार्य, स्थानेस्वरोपाध्याय आचार्य, ऋषिश्वरोपाध्याय आचार्य, बालानन्दोपाध्याय आचार्य, अग्नीश्वरोपाध्याय आचार्य हो ।

आचार्यहरूको सेन राजाहरूसँग राम्रो सम्बन्ध रहेकाले बिर्ता बक्सिस पाएकाबाट थाहा पाउन सकिन्छ । अग्निश्वरका सन्तान जन्मिँदै मर्दै गरेकाले श्रीकृष्ण जन्मने बित्तिकै गोबरसँग जोखेकाले श्रीकृष्ण आचार्यको नाम जोखु पनि रहेको कुरा बिर्ता स्वामित्व हस्तान्तरणमा उल्लेख भएकोबाट समेत प्रमाणित हुन्छ ।

जसरी पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक तथा राजनीतिक रूपमा एकीकरण गरी नेपाल राष्ट्रको निर्माण गरे, ठीक त्यसै अनुरूप नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको भाषिक एकता गरे ।

वि.सं १८७१ असार २९ गते आइतबार तनहूँ चुँदी रम्घामा जन्मेका भानुभक्त आचार्यकी आमाको नाम धर्मावती आचार्य हो । राजज्योतिषी सुब्बा धर्मदत्त ज्ञवालीलाई भानुभक्तले आफ्नो जन्मकुण्डली कस्तो छ भनी प्रश्न गर्दा ज्योतिषीलाई जन्मसमय कुण्डलीसमेत उनले यसरी बताएका छन् ः

ति शालीवाहन्का समय षडत्रिंशत भइकन,
अनी आषाढ् मासको दिन पनि उनन्तिस् गइकन ।
घडी एक्तिसमाहाँ विघटि पनि बत्तिस् परिकन,
नवांशक् कण्ठीरव् धनुष परि जो बेस लगन ।।
मिथुन्मा सूर्यै छन् गुरुनिलय मीन्का विधुपनी,
महीसुुत् बुध् राहु शशिसदनमा ई तिन पनी ।
गुुरु भग्यस्थान्का रविभवनमा गैकन बस्या,
भृगुजी ता आफ्नै सदन वृषमा गैकन वस्या,
मकरमा सौरी छन् ध्वजसहितका स्वगृहि यहा
बताएका क्रमले ग्रहहरू बस्या कुण्डलिमहाँ ।

यसबाट उनको जन्मसमयका बारेमा कुनै विवाद नरहेको देख्न सकिन्छ भने उनको मृत्यु कुन महिना कति गते के बार भयो भनेर स्पष्टसँग कसैले पनि बताएको पाउन सकिएको छैन । आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रका लेखक पण्डित कविराज नरनाथ आचार्यले भानुभक्तका श्राद्घ गर्ने सन्ततिहरूलाई सोधेर आश्विन शुक्ल पञ्चमीमा देहावसान भएको उल्लेख गरेका थिए । सो तिथि कति गते के बार पर्दछ भनी गणना गर्दा वि.सं १९२५ असोज ७ गते सोमबार उनको देहावसान भएको रहेछ भनी गणितबाट समेत प्रमाणित गर्न सकिन्छ ।

भानुभक्त आचार्यको विवाह सानै उमेरमा भएको देखिन्छ भने उनले दुई विवाह गरेको प्रमाण उनका नाति शिवभक्त आचार्यले श्राद्घ गर्दा दुई पत्नीलाई पिण्डदान गरेबाट स्पष्ट हुन्छ । यद्यपि पहिली पत्नीबाट कुनै सन्तान भएको थाहा हुनसकेको छैन भने दोस्री पत्नी चन्द्रकलादेवी खनालसँग भएको र उनबाट रमानाथ आचार्य र शिवशङ्कर आचार्य दुुई छोरा तथा छोरी लक्ष्मी आचार्य भएको प्रमाण नरनाथ आचार्यले लेखेका छन् । शिवशङ्कर किशोरावस्थामै परलोक भएकाले रमानाथ आचार्यका छ भाइ छोरा रहेको वंशावलीको अध्ययनबाट स्पष्ट हुन्छ ।

भानुभक्तका बाबु धनञ्जय आचार्य पाल्पामा खरदार भएर काम गर्दा सरकारी रकम फस्र्योट गर्न बाँकी रहँदै उनको मृत्युु भएकाले बाबुले गर्नुपर्ने दायित्व छोराले समेत फस्र्योट गर्नुपर्ने त्यतिबेलाको नियमबमोेजिम कुमारीचोकले भानुभक्त आचार्यलाई सरकारी बाँकीको आरोपमा घरैमा पक्रेछ ।

कुमारीचोकमा आफंँै हाजिर भई भोग्नुपर्ने सजाय भोगौँला भनी कागत गरेपछि त्यसबेलाको प्रशासनले उनलाई विश्वास गरेर छोडिदिएको र आफूले भनेबमोजिम सजाय भोग गर्न भानुभतm पहिलोपटक काठमाडौँ आएका रहेछन् । आफूले कबुल गरेको दिनभन्दा केही दिन अगाडि उनी काठमाडौँमा आइपुगेकाले उनी बालाजु पार्कमा पुगेर हेर्दा पार्कमा रहेका धारा, पोखरी, मूर्ति, वन, लहरा, नजिकैको बजार, चराचुरुङ्गी आदि देख्दा उनलाई कविता यसरी फुर्न गएछ ः

यति दिन पछि मैले आज बालाजि देख्याँ
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।
वरिपरि लहराका झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ।। १ ।।
याँहाँ बसेर कविता यदि गर्न पाऊँ ,
यस्देखि सोख हरूथोक म के चिताऊँ ।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊ
खैँचेर इन्द्रकन स्वर्ग यहीँ बनाऊ ।। २ ।।

त्यसबेलाको समाजले संस्कृतमा कविता बनाउने मानिसलाई मात्र प्रतिष्ठित तथा विद्वान् ठहराउँथ्यो । त्यतिबेला सबैले संस्कृतमा काव्य रचना गर्ने चलन थियो । यस्तो परिस्थितिमा कवि भानुभक्तले नेपालीमा कविता रचना गर्नु त्यस समयका लागि एउटा विद्रोह तथा आन्दोलनकै सुरुवात गरेछन् भन्न करै लाग्छ ।

रामायण, वधूशिक्षा, प्रश्नोत्तर, भक्तमाला र हरू धेरै फुटकर कविताका रचनाकार भानुभक्त आचार्य आफैँले भने कुनै पनि रचना प्रकाशित गरेका छैनन् । भानुभक्तले बनाएका कविता सारेर विभिन्न व्यक्तिले लय मिलाई वाचन गर्दै आनन्द लिने समाज ठूलै भएकाले त्यस्ता मानिससँग मोतीराम भट्टको भेट हुन पुगेछ ।

मोतीरामलाई कविता खुब मन परेछन् र पाएसम्मका उनका रचना खोजी प्रकाशित गरिदिएछन् । यसरी भानुभक्तलाई भानुभक्त बनाउनमा मोतीराम भट्टको अतुलनीय योगदान रहेको कुरा कसैले बिर्सन हुँदैन  ।

– गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *