काठमाडौं २४ वैशाख : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले पहिलोपटक चीनको राजधानी बेइजिङमा चार्टर्ड उडान गरेको छ ।
बेइजिङबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज अबेर साँझ बेइजिङ उडेको हो । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ । निगमको कार्गो उडानको जहाजले बेइजिङबाट स्वास्थ्य सामग्री लिएर बिहीबार बिहान काठमाडौँ आइपुग्नेछ ।
चीनको राजधानी बेइजिङमा नेपाल एयरलाइन्सको पहिलो उडान हो । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भएपनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ । निगमले यसअघि चीनको साङ्घाई हँुदै जापानको ओसाका उडान गर्ने गरेको थियो ।
सन् १९८४ ताका निगमले सो गन्तब्यमा उडान शुरु गरेको भएपनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । निगमले चीनको ग्वाङजाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुन सकेको छैन । बेइजिङलगायत गन्तब्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन ।
अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ्ग र छोङ्गिनलगायत गन्तब्यमा उडान गर्दै आएको छ । निगमले भने (शुरुको साङ्घाई उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हुदैँ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *