काठमाडौं : नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ। नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो।

तेस्रो खेलमा नेपालले ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको योगफल बनायो। जवाफी ब्याटिङमा आएको ओमनले १६ बल बाँकी छँदै नेपालले दिएको लक्ष्य भेटायो।

‌ओमानका लागि इलियाजले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरे। इलियाजले १०६ बल खेली १२ चौका र १ छक्काको मद्दतले १०८ रन बनाउँदै अविजित रहे। त्यस्तै, कप्तान जिसन मक्सुद ६८ रन बनाइ अविजत रहे। मक्सुदले ७८ बल खेली ८ चौका प्रहार गरे। दुवैको एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर हो।

ओपनर जतिन्दर सिंह २३ रन बनाइ कुशल मल्लको बलमा बोल्ड भए भने खावर अलीलाई सुसन भारीले ४१ रनमा बोल्ड गरे।

यस जितसँगै ओमानले अमेरिकालाई उछिन्दै लिग-२ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। ओमानले ९ खेलमा ७ जित हात पार्दै १४ अंक जोडेको छ। अमेरिका १० खेलमा ६ विजय हात पार्दै १२ अंकको साथ दोस्रो स्थानमा छ।

यसअघि नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिंस खेले। उनले ७६ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५६ रनको योगदान गरे।

त्यसैगरी पारस खड्काले ३८ रन जोडे भने विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८/२८ रन जोड्दै बाहिरिए। त्यस्तै, सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए।

दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए। डेब्यु खेलाडी कमलसिंह ऐरी नौ रनमा अविजित रहे। बलिङतर्फ ओमानका अकिब इलासले चार विकेट लिए भने मोहमद नदिमले तीन विकेट झारे।

नेपालले ३ मध्येको दोस्रो हार व्यहोरेको हो। दुवै हार ओमानसँग रहेको छ। नेपाल पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो। शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *