काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहानलगायत अन्य क्षेत्रमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएका हुन्। कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

अध्ययनका क्रममा वा कामको शिलशिलामा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको दाबी गरे।

‘फिर्ता बोलाउने तयारी छ। तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन। फिर्ता बोलाएपछि अमेरिकालगायतका देशहरूले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ। हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ। आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ। फिर्ता बोलाएपछि उहाँहरूलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, उनले भने।

स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए। उनका अनुसार चीनसँग जोडिएका नाकाहरूमा पनि निगरानी सुरु गरिएको छ। रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उनले बताए।

यता, वुहानमा रहेका नेपाली विद्यार्थीले आफूहरूको उद्धार गर्न चीनमा रहेको नेपाली दूतावासलाई आग्रह गरेका छन्। चीनलगायत विश्वका दर्जन बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *