काठमाडौं : प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ‘अभद्र व्यवहार’को मुद्दा खेपेकी गायिका आस्था राउत छुटेकी छन्।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन्। आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो।

आस्थाले भने आफूमाथि पनि प्रहरीबाट दुर्व्यवहार भएको दाबी गर्दै आएकी थिइन्। आस्थाले झापा पुगेर सामाजिक सञ्जाल फेसबुकमा जाँचका क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ भन्दै गाली गरेकी थिइन्।

त्यसपछि भारतमा सांगीतिक कार्यक्रममा रहेकी आस्था सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् । सोमबारै आस्थालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो ।

सोमबार प्रहरी कार्यालयमा आस्थाले कानुनभन्दा माथि कोही नभएको बताउँदै कारबाही स्विकार्ने बताएकी थिइन् । प्रहरी नियन्त्रणमा रहेकी आस्था सोमबार साँझै अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *