काठमाडौं : १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई शनिबार इतिहास रच्ने अवसर प्राप्त भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शनिबार हुने सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ। नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ। नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट नेपाली महिला टोलीले सेमिफाइनलमा श्रीलङ्कालाई हराउनेमा ढुक्क छन्। उनले जसरी पनि फाइनल पुग्ने योजना बनाएको बताए।

नेपालले यसअघि पनि श्रीलंकालाई पराजित गरेकाले महिला टोलीको मनोबल बढेको प्रशिक्षक भट्टले बताए। छ वर्षअघि काठमाडौंमा सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो।

यस्तै समूह ‘बी’को विजेता भएर श्रीलंकाले नेपालसँगको सेमिफाइनल पक्का गरेको छ। नेपालले समूह चरणको खेलमा बंगलादेशलाई ३-० ले हराएको थियो भने भारतसँग ३-० ले पराजित भएको थियो। भारतले बंगलदेशलाई पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो। बंगलादेश महिला भलिबलको समूह चरणबाटै बाहिरिएको छ।

शनिबार नै महिला भलिबलको अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारत तथा समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच खेल हुने छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई २५-८, २५-११ र २५-९ तथा श्रीलंकाले माल्दिभ्सलाई २५-१५, २५-१८ र २५-१४ अंकले पराजित गरी सेमिफाइनल प्रवेश गरेका हुन्।

यसैगरी पुरुष भलिबलमा शुक्रबार भारतले नेपाललाई २५-१५, २५-१३ र २५-१६ ले हराउदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो। पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। समूह ए बाटै उपविजेता भइ बंगलादेशसमेत सेमिफाइनलमा प्रवेश गरेको छ।

पुरुष भलिबलकै अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५-१८, २५-२३ र २५-१७ अंकले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। समूह चरणको दुवै खेलमा हारेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘बी’ को अन्तिम खेल शनिबार श्रीलंका र पाकिस्तानबीच हुने छ। उक्त खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *