काठमाडौं : चिनियाँ अभिनेत्री सी छिङ नेपालको भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन्। उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरेका हुन्।

 नेपाल भ्रमण वर्ष २०२० सचिवालयले शनिबार औपचारिक कार्यक्रम गर्दै सद्भावना दूतको रूपमा उनलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ। छिङ अन्तर्राष्ट्रिय मञ्चहरूमा विशेषरूपमा चिनारी भएकी चिनियाँ कलाकार तथा सिलिब्रेटी हुन्।

मन्त्री भट्टराईले सामाजिक संजाल फेसबुकमा सम्झौता गर्दै गरेका तस्विर शेयर गर्दै लेखेका छन्, ‘सामाजिक संजाल विइबोमा करिब १ करोड ६० लाख मानिसहरूले फछ्याएकी, हलिउडलगायत अन्तर्राष्ट्रिय मंचहरूमा विशेषरूपमा चिनारी भएकी चिनियाँ कलाकार तथा सिलिब्रेटी सु छिङ (समर छिङ)लाई आज भ्रमण वर्ष २०२० को सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरिएको छ। उहाँको भ्लगलाई भने १ अर्ब १३ करोडले ‘भिजिट’ गरेको देखिन्छ।’

‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु, धन्यवाद्’, प्रमाणपत्र ग्रहण गरेपछि अभिनेत्री सी छिङले भनिन्।

उक्त कार्यक्रममा नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रृंचङसँग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिए।

‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु’, मन्त्री भट्टराईले भने, ‘चीनमा मात्रै होइन विश्वमै ख्याती कमाइसक्नु भएकी छिङले नेपाल’दयगत पक्कै पनि दुई शब्द बोल्नु हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *