काठमाडौं : नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भुटान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेल्दै भुटान समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। दुई पटकको च्याम्पियन नेपाल भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा खेल सकियो। यो बराबरीसँगै समूह विजेता बनेको भुटानले २ खेलमा ४ अंक जोड्यो। पहिलो खेलमा भुटानले नेपाललाई ३–० ले हराएको थियो।
यस्तै माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो। माल्दिभ्सले पहिलो खेलमा नेपालसँग १ –१ गोलको बराबरी खेलेको थियो। साविक विजेता समेत रहेको नेपालले भने २ खेलमा १ अंक जोड्यो। नेपाल समूहको पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।