काठमाडौं : चितवनमा ‘एसिया क्षेत्रीय बाख्रा विज्ञहरूको सम्मेलन’ हुने भएको छ।

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्याम्पसको बहुउद्देश्यीय हलमा सो सम्मेलन आयोजना गर्न लागिएको औपचारिक जानकारी गराएको हो।

आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म आयोजना हुने सो सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका, क्यानडा, चीन, इन्डोनेशिया, जापान, क्युवा, फ्रान्स बंगलादेश, केन्यालगायतका १४ देशका बाख्रा अनुसन्धान तथा विकासमा विशिष्ट योगदान पुर्‍याएका सफल वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थीको सहभागिता रहने सम्मेलन आयोजना समितिकी संयोजक एवं सो विश्वविद्यालयकी कायममुकायम उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाले जानकारी दिइन्।

‘विकाशशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने नाराका साथ आयोजना हुने सो सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्राः बाख्रा उत्पादनका नीति, बाख्राजन्य उत्पादनमा प्रविधिको विकासलगायतका क्षेत्रमा विस्तृत छलफल हुनेछ।

विश्वमा बाख्रा उत्पादनको दृष्टिले एशीया महादेशलाई उर्बरा भूमिको रूपमा लिने गरिन्छ। नेपालमा मात्रै गत आर्थिक वर्षमा करिव ५ अर्व बराबरको आम्दानी मासु निर्यातबाट भएको सरकारी तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *