कृष्ण अधिकारी


कार्भेपलाञ्चोक : गाउँनजीक दाउरा नहुँदा मकैका ढोड, प्लाष्टिक बालेर खाना पकाउनुपर्ने विगतका दुःखका दिन सम्झँदा मदनदेउपुर नगरपालिका–७ कुन्ताबेंसीकी सीता सापकोटालाई अहिले पनि सिरिङ बनाउँछ । दिनभरि लगाएर ल्याएको एक भारी दाउरा र ढोडले साता पुर्‍याउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर धुवाँमा बसेर खाना पकाउनु पर्दाको कठिनाइ, काला भाँडा र घर सफा गर्न घण्टौँ समय व्यतित गर्नुपर्ने अवस्थाबाट उनी अब मुक्त भएकी छन्।

उनको भान्छामा अहिले बायोग्यास, एलपी ग्यासका चुलो र इन्डक्शन छ। सीता भन्छिन्, ‘‘म प्रायः बायोग्यासमै दूध तताउने, तरकारी पकाउने गर्छु, खाना इन्डक्शनमा पाक्छ । बिजुली नभएको बेला मात्रै एलपी ग्यासको चुलो प्रयोग गरेको छु ।” एलपिजीभन्दा इन्डक्शन धेरैले सस्तो पर्ने उनको भनाइ छ । महिला स्वयंसेविकासमेत रहेकी उनी घरभित्रकै धुवाँका कारण अधिकांश महिला, बालबालिका विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेकाले गाउँमा स्वच्छ धुवाँमुक्त भान्छाको व्यवस्था भएमा यो समस्या अन्त्य गर्न सकिने धारणा राख्छिन्

सोही गाउँकी ८९ वर्षीया कृष्णकुमारी पराजुली ग्यासको चुलोमा खाना पकाएको देख्दा आफ्ना विगतका दुःख सम्झँदै भन्छिन्, “समय पनि कस्तो सुखको आयो । अझै केही वर्ष बाँच्न सके के के देख्न पाइने हो रु ट्याक्क चुलोको बटम थिच्यो एकक्षणमै खाना तयार हुन्छ । ग्यासमा खाना पाकेको देख्दा अचम्म लाग्दछ ।”

विसं २०७२ को भूकम्पले घर ध्वस्त भएपछि सिन्धुपाल्चोकको इन्द्रावतीबाट कुन्ताबेँसीमा बसाइँ सरेर आएकी बिन्दा नेपाललाई पैतृक थातथलो छोड्नु पर्दा दुःख त लागेको थियो तर यहाँ आएपछि दाउरामा खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुँदा निकै खुशी लागेको छ। उनी भन्छिन्, “पहिले दाउरामा खाना पकाउँदा धुलोधुवाँले सधैँजसो आँखा दुख्ने, श्वासप्रश्वासको समस्याले सताउँथ्यो, अहिले इन्डक्शनमा खाना पकाउँदा निकै सजिलो भएको छ ।”

सामाजिक परिचालिका अप्सरा सापकोटा लिडर्स नेपालको पहलमा स्वच्छ भान्छाको महत्वका बारेमा विभिन्न जनचेतनामूलक क्रियाकलाप सञ्चालनपछि नगरपालिका–७ का दुई/तीन घरबाहेक १६२ घरमै खाना पकाउन दाउराको प्रयोग बन्द भएको बताउँछिन् । गाईवस्तुलाई कुँडो पकाउन मात्रै उनीहरुले घर बाहिरपट्टि दाउरा बाल्ने गर्दछन् । खाना पकाउन इन्डक्शन, एलपी ग्यास र बायोग्यासको प्रयोगले स्थानीयवासीको जीवनशैलीमै परिवर्तन आएको उनको भनाइ छ ।

पाँचखाल नगरपालिका–६ की तिला अधिकारीले दाउरामा खाना नपकाएको १५ वर्ष भयो । छ घनमिटरको बायोग्यास जडान गरेपछि दाउरामा खाना पकाउनुपर्ने दुःख र झन्झटबाट मुक्त भएको उहाँ बताउँछिन्। उनलाई भान्छामा श्रीमान् र छोराछोरी पनि सघाउने हुँदा घरधन्दा गर्न सहज भएको उनको भनाइ छ।

पाँचखाल–३ की सीता बानियाँलाई विकासको आधार भनेकै घरभित्रको वातावरण स्वच्छ गर्नु रहेछ भन्ने लाग्दछ। महिला स्वयंसेविकासमेत रहेकी उनी बायोग्यास, एलपी ग्यास वा इन्डक्शनको प्रयोगले भान्छा सफा र धुवाँमुक्त हुँदा परिवारको स्वास्थ्य अवस्थामा सुधार आउनाका साथै महिलाको कार्यबोझ घट्ने, सशक्तीकरण हुने र आयआर्जनका अन्य विकल्प खोज्न सकिने हुँदा गाउँका अधिकांश घरमा आधुनिक चुलोको विस्तार भएको बताउँछिन्।

 ‘ग्लोबल एलाइन्स फर क्लिन कुकस्टोभ्स’ (जिएसिसी) को पहलमा दुई वर्षअघि नूमना परियोजनाका रुपमा पाँचखाल र मदनदेउपुर नगरपालिकामा सञ्चालित धुवाँमुक्त भान्छाको कार्यक्रमले स्थानीयवासीको दिनचर्यामा फेरबदल ल्याएको छ। यसले स्थानीयवासीको स्वास्थ्यमा सुधार, जलवायु तथा वातावरणको संरक्षण, महिला सशक्तीकरण र पैसाको बचत गरी समाजको रुपान्तरण गर्न सकिएको जिएसिसी नेपालका राष्ट्रिय प्रबन्धक करुणा बज्राचार्य बताउँछन् । दुई वर्षअघि काभ्रेको मदानदेउपुर र पाँचखालमा गरिएको अध्ययनमा झण्डै ९९ प्रतिशत घरमा दाउराबाटै खाना पकाउने गरिएकामा अहिले अधिकांशले बायोग्यास, एलपी ग्यास वा इन्डक्शनको प्रयोग गर्न थालेको उनको भनाइ छ।

घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गरी स्वच्छ भान्छाको अभियानलाई सफल तुल्याउन विद्युत्बाट खाना पकाउन प्रोत्साहित गर्नुपर्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत मुकेश घिमिरे बताउँछन् । खाना पकाउन परम्परागत ऊर्जा स्रोत दाउराको प्रयोगले नेपालमा बर्सेनि २२ हजार व्यक्तिको धुवाँजन्य रोगबाट मृत्यु हुने गरेको सन्दर्भमा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग बढाउन केन्द्रले इन्डक्शन वा अन्य विद्युतीय चुलोको प्रवद्र्धनमा जोड दिएको उनको भनाइ छ ।

घरभित्रको वायु प्रदूषण नेपालको स्वास्थ्य जोखिमको तेस्रो कारण रहेको छ, जसबाट बर्सेनि १८ हजार जनाले ज्यान गुमाउने गर्छन् र त्यसमा अधिकांश महिला तथा बालबालिका पर्ने गरेका छन् । खाना पकाउन काठ–दाउरा प्रयोग गर्नेको संख्या कूल जनसङ्ख्या ६६ प्रतिशत छ । घरभित्र दाउरा, गुइँठा लगायतका जीवांश इन्धन बाल्दा निस्कने धुवाँकै कारण उत्पन्न हुने रोगबाट विश्वमा हरेक वर्ष २० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *