काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि सुनुवाइ हुने भएको छ।

उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाइ गर्ने भएको हो। पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्।

तीनै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले गत सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमाथि मंगलबार भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको थियो।

यसअघि पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनीलाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न दिएको आदेश आफूलाई चित्त नबुझेको भन्दै निवेदन रवीले दर्ता गराएका थिए।

रवी र युवराजले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदनमा उल्लेख गरिएको थियो। उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको थियो।

पत्रकार पुडासैनी साउन २३ गते चितवनमै मृत अवस्थामा भेटिएका थिए। उनको मृत्युअघि रेकर्ड गरिएको भिडियोमा रवि लामिछाने, पत्रकार कँडेल र नर्स कार्कीको नाम लिएका थिए। सोही भिडियोलाई आधार बनाइर उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *