भारतीय एक युवक वृद्ध व्यक्तिको भेष बदलेर अमेरिका जाने प्रयास गर्दा पक्राउ परेका छन्। अमेरिकाको न्युयोर्कका लागि विमान चढ्ने बेला भातीय सुरक्षा अधिकारीले उनलाई आइतबार पक्राउ गरेका हुन्।

भारतीय सुरक्षा अधिकारीले ती संदिग्ध व्यक्तिको नाम जयश पटेल बताएका छन्। उनको उमेर ३२ वर्ष रहेको बताइको छ। उनले ८१ वर्षीय वृद्धको भेष बदलेर अमेरिका जाने प्रयास गरेका थिए। उनलाई सुरक्षा जाँच अधिकारीले नक्कली राहदानीसहित पक्राउ गरेका हुन्।

फुलेको दाह्री भएका र मोटो चस्मा लगाए उनी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरे।

सुरक्षाकर्मीले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम भएको राहदानी उनले दिए। राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ र जन्मस्थान दिल्ली भएको उल्लेख थियो।

सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले सिएनएनलाई बताएअनुसार दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शंका उब्जिएको थियो। ‘यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लिखित उमेरसँग मेल खाएजस्तो देखिएन,’ सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले भने।

सोधपुछका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए। लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतका प्रहरी अधिकारीहरूले एनडीटीभीलाई बताएअनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थियो। एनडीटीभीको रिपोर्टअनुसार उक्त दलालले पटेलको हुलिया बदल्ने व्यवस्था मिलाइदिएको थियो।

प्रहरी अधिकारी सञ्जय भाटिएका अनुसार रोजगारीका लागि उनी अमेरिका जाने तयारीमा थिए। तर उनको प्रोफाइलका कारण सहजै भिसा प्राप्त गर्न सक्ने अवस्था थिएन। त्यसै उनले भेष बदलेर अमेरिका जाने योजना बनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *