काठमाडौं : नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता भएको छ। नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।
उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन्। रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ।
राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ। चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमाससम्म बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उपनिर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख रिको स्थापितलगायतको उपस्थिती रहेको थियो।