सन् १७८० मा इंग्ल्याण्डको जेलमा भएको घट्ना हो यो। विलियम एडिस नाम गरेका व्यक्ति उपद्रो गरेको अभियोगमा जेल सजाय भोगिरहेका थिए। सबै कैदीलाई झैँ उसलाई पनि दाँत सफा गर्न कठिन भइरहेको थियो। उनीहरू कोही औंला त कोही रूखको सानो तथा नरम हाँगाले दाँत सफा गर्ने प्रयास गरिरहेका हुन्थे।

दिन बित्दै थिए। एकदिन अनायास उसको मनमा के आयो कुन्नी, मासु खाएर फालिएका पातलो हाडमध्ये एउटा हाड छान्यो। हाडको अघिल्तिर सानासाना प्वाल बनायो। ती दुलोमा कुनै जनावरका कडा कडा रौं घुसारिदियो। बस के चाहियो र, संसारको पहिलो टुथब्रस तयार।

विस्तारैविस्तारै झ्यालखानाका अरू कैदीले पनि यो शैली अपनाउन थाले। कैदीले मात्र नभएर यस्तो नक्कल सिपाहीले पनि गर्न थाले। ख्यालख्यालमा गरेको कामले आविष्कारको रूप पाएपछि एडिस दंग भए। जेलबाट छुटेपछि उनले यही कामलाई निरन्तरता दिए।

जेल पर्नुअघि छालाको काम गर्ने एडिसको व्यावसायिक चिनारी नै फेरियो। नाम, दामले खुबसंग पछ्यायो। टुथब्रस हाडबाट नभएर काठ र धातुबाट बनाउने प्रचलन शुरु भयो। जेलबाट शुरु भएको यो अभियान दुनियाँभर फैलियो।

हुन त टुथब्रस जस्तो चीजको खोजी १५औं शताब्दीतिरै चिनियाँले गरिसकेका थिए। तर, त्यो चीनमै सीमित रह्यो। यसअघि नै अरबी मुलुकमा दतिवनले दाँत सफा गर्ने चलन थियो। उनीहरू दतिवनका लागि ‘अरक’ जातको वनस्पति उपयोग गर्थे। हाम्रो समाजमा पनि नीम, जामुन नामका वनस्पतिका नरम हाँगा दतिवनका रुपमा उपयोगको परम्परा प्राचीन कालदेखि नै चलेको पाइन्छ।

ब्राम्हणहरूमा सूर्योदयको समय सूर्यतिर मुख पारेर दतिवन गर्नु धार्मिक कार्य मानिन्थ्यो। ऋषि पञ्चमीका दिन महिलाले दतिवन लगाएर दाँत माझेर आफूलाई शुद्ध राख्ने परम्परा अहिले पनि धार्मिक विधिभित्र पर्दछ।

१८औं शताब्दीमा टुथब्रसको सेट नै बेचिन्थ्यो। एउटा सेटमा ५,६ वटा टुथब्रस हुन्थे। यिनीहरूमा जनावरको रौं यसरी लगाइन्थ्यो, जसरी जुत्ता टल्काउने ब्रसमा लगाइएको हुन्छ। प्लास्टिक र नाइलनको खोजीले टुथब्रसको व्यवसायमा क्रान्ति ल्याइदियो।

नाइलन प्रयोग भएको ब्रसले सन् १९३८ अमेरिकी बजारमा प्रवेश पायो। अहिले अनगिन्ती रंग र स्टाइलका टुथब्रस बजारमा पाइन्छ। नरम खोज्नुस् या कडा। छोटो या मोटो हरेक उमेर समूहलाई बेग्लाबेग्लै साइजका ब्रस बजारमा छन्। बिजुलीबाट चल्ने ब्रस पनि आविष्कार भएको थियो। तर, यो लोकप्रिय हुन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *