काठमाडौं : नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूले लघु, घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन्। स्थानीयस्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरूले बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूसँगको स्वागत तथा भेटघाटमा उनीहरूले आफूहरूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुको बजारीकरणमा सघाउने बताएका हुन्।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगको योगदानलाई बिर्सन नहुने बताए। आफूहरू लघु, घरेलु तथा साना उद्योगीकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उनले यस्ता उद्योगको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिए।

भारतका लागि नवनियुक्त पर्यटनदूत नीता पोखरेलले झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफूहरूको प्रमुख जिम्मेवारी रहेको बताइन्।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार वृद्धि गर्न, त्यहाँका बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे।

मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवर्द्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोमा उनले जोड दिए। यस्ता उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतले आ-आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *