• सञ्जीत कुमार मण्डल

जलेश्वर : उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरूको दिनचर्या नै हो। मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन्। सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन्।

यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ। काम गर्न नमान्नु, तास, जुवा, रक्सीमा मात्नु र श्रीमतीलाई पिट्नु पनि यहाँका पुरुषहरूको दिनचर्या नै हो।

शिक्षाको उज्यालो घामले नछोएको यस बस्तीका व्यक्तिहरू छोराछोरी पढाउने चाहना नै राख्दैनन्। आफ्ना छोराछोरीलाई विद्यालयबाट टाढै राख्न चाहन्छन्। बालबालिकालाई पढाउनुको साटो उनीहरूका लागि गाई, बाख्रा, सुँगुर, बँगुर किनिदिने र त्यसको हेरचाहमा लगाएर २/४ पैसा आर्जन गर्न लगाउने कामलाई उनीहरू प्राथमिकता दिन्छन्। महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ७ स्थित मनहर्वा मुसहर बस्तीको पुरुषहको औसत आयु ४० वर्ष मात्रै रहेको छ।

नेपाल सरकारले तोके अनुसार हरेक नेपालीको औसत आयु ६० वर्ष रहे पनि यस बस्तीका मुसहर पुरुषहरूको औसत आयु ४० वर्ष मात्रै रहेको छ। एकसय २५ घरधुरी रहेको यस बस्तीका पुरुषहरू अत्यधिक रक्सी खाने गरेका कारण ४० वर्षभन्दा बढी नबाँचेको उनीहरूको भनाइ छ।

यहाँका मुसहरहरू बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाबाट रक्सी खाएर सुत्ने गरेका कारण उनीहरू अल्पायुमै मर्ने गरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन्।

बाइस वर्षकै उमेरमा विधवा भएकी मुसहर महिला इन्दु सदाले ३ वर्ष पहिले मात्रै पति दुखा सदालाई गुमाइन्। आफ्नो पतिको ३२/३३ वर्षको उमेरमा अत्यधिक रक्सी सेवन गरेकै कारण मृत्यु भएको उनी बताउँछिन्।

अल्पायुमै आफन्तको मृत्युवरण देखेकी तुलसी सदाले पनि रक्सी सेवनबाट शुरु हुने यहाँका पुरुषहरूको दैनिकीले नै उनीहरूको आयु खुम्च्याइदिएको बताइन्।

स्थानीय महिला मरनी सदाका अनुसार आ–आफ्ना पुरुषका बारेमा कुन दिन अप्रिय समाचार सुन्नु पर्ने हो भन्ने भय पालेर यहाँका महिलाले दिन गुजार्न परिहरेको छ।

यस गरीब बस्तीमा कुनै पनि मुसहरको घरमाथि टिनको छानो छैन। सबैको घर खर, बाँस, झारपातबाट बनेको छन् र सबैको छानो चुहिने अवस्थाका छन्। इँटा, ढुंगा र सिमेन्टले बनेको पक्की घर त हेर्नकै लागि भए पनि कसैको त्यस बस्तीमा छँदै छैन।

दैनिक रक्सी खाएका पतिबाट प्रताडित यस बस्तीका महिलाहरूले आफूहरूको बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूसँग पटक पटक गुहारिसकेको भए पनि त्यसको सुनुवाइ भएको छैन।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस बस्तीका मुसहरको बानीबेहोरामा परिवर्तन ल्याउन नगरपालिकाले थुप्रै कामहरू गरेको बताउँछन्।

बालबालिकाहरूको पठनपाठन नियमित होस् भन्ने उद्देश्यले पनि यस वस्तीमा रहेका विद्यालयलाई विभिन्न सेवा सुविधाहरू दिइएको उहाँ बताउँछन। आफू अनपढ भएकाले आफ्ना सन्तानलाई पनि सधैं अनपढ नै राख्ने सोच यहाँको अभिभावकले पालेको देखिन्छ।

करीब २ वर्ष पहिले मनहर्वा बस्तीमा हास्य कालाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आएर बस्तीका सबै बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै शैक्षिक सामग्री बाँडेका थिए। सबै महिला, पुरुषहरूलाई रक्सी सेवन, झै-झगडा, गालीगलौज र कुटपिट जस्ता घटनाहरू नघटाउन पनि उनीहरूले सल्लाह दिएका थिए।

त्यो बेला घरघरबाट मेला भर्न आएजस्तै उर्लेर आएका मुसहरहरूले सोही दिनदेखि आफूहरू राम्रो बाटोमा हिँड्ने प्रण गरेका थिए तर, कुकुरको पुच्छर सधैं बाङ्गो भनै जस्तै एकाध परिवार र व्यक्ति बाहेक मनहर्वाका सबै मुसहरहरूको स्वभावमा खासै परिवर्तन आएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *