• सानेबहादुर नेपाली

तनहुँको व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको माध्यम बनाएका छन् । उनले होलस्टेन र जर्सी जातका दुई/दुई गाई पालेका छन्। साथै पाँच रोपनीमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्न थालेका छन् ।

गाईको दूध बेचेर ४० हजार र तरकारीबाट ४० हजार गरी मासिक ८० हजार रुपैया बचत हुने गरेको आचार्यले जानकारी दिए । तत्कालीन नेकपा एमाले निकट भातृ संगठन अनेस्ववियु तनहुँ जिल्लाका पूर्वअध्यक्ष तथा अनेस्ववियुको केन्द्रीय सदस्य रहेका युवानेता आचार्य हाल कृषक पेशामा लाग्दा छिमेकीसमेत दंग पर्ने गरेका छन् । गाईको दूध, गहुँत र गोबर बिक्री गरी आम्दानी गर्ने गरेको उनले बताए ।

एक गाईको दूध बिक्रीबाट मासिक रु १० हजार नाफा हुन्छ । आचार्यले भने, ‘छिमेकीको दूधसमेत खरीद गरी बिहान र बेलुका  चार किलोमिटर परको सदरमुकाम दमौलीमा दूध बेच्छु ।’ हाल दैनिक रु ७० देखि ८० लिटर दूध बिक्री हुन्छ । कृषिकर्मलाई जीवनसङ्गिनी भूमिकाले साथ दिँएकाले काम सहज बनेको  छ ।

राजनीति भनेको सामाजिक क्षेत्रको हो, आर्थिकरूपमा फाइदा छैन । तर, घरपरिवार चलाउन पैसा जरुरत पर्ने भएकाले मैले कृषि पेशालाई अँगालेको आचार्यको भनाइ छ । उनले थपे, ‘गाईको गहुँतले रोग, कीरा नियन्त्रण गर्न सहज हुन्छ, तरकारीका लागि पनि मल पनि राम्रो हुने हुँदा पशुपालन र तरकारी खेतीलाई सँगसँगै लगेको  हुँ ।’

समाज सेवामा आफ्नो रुचि रहेकाले राजनीति र कृषिलाई एकैसाथ लैजाने योजना रहेको आचार्य बताउँछन् । ‘बिहान र बेलुका कृषि पेशा गर्छु, दिउँसो बचेको समय राजनीतिमार्फत सामाजिक क्षेत्रमा लाग्ने योजना बनाएको छु’, उनले भने ।

आचार्यले विसं २०७४ असार ८ गतेबाट आचार्य गाई फार्म दर्ता गरी व्यावसायिकरूपमा कृषि पेशा गर्दै आएका छन् ।  उक्त पेशाका लागि रु १५ लाख लगानी भएको र हालको भन्दा दोब्बर आम्दानी लिन थप रु १० लाख लगानी गर्ने सोच बनाएको उनले बताए ।

व्यावसायिक कृषकका लागि बैंकले सहजरूपमा ऋण दिने, आधुनिक कृषियन्त्रमा सहुलियत दिने र सरकारले कृषकको सामान खरीद गरेर बिक्री वितरणको सुरक्षा लिने हो भने विदेश गएका युवाहरू स्वदेश फर्किएर कृषि पेशा गर्न सक्ने आचार्यको सुझाव छ ।

‘कृषि पेशामा दुःख गरेअनुसार आम्दानी नभएकाले युवाहरू कृषि पेशाप्रति आकर्षित हुन नसकेका हुन्’, उनले भने, ‘राज्यले किसानको उत्पादन बिक्री वितरण गरिदिन्छौँ भनेर निश्चितता गर्ने हो भने बिचौलियाको अन्त्य हुनुका साथै  कृषि पेशातर्फ मानिसहरू आकर्षित हुन सक्छन् ।’

‘कृषिसम्बन्धी नीति बनाउँदा कृषकलाई नै राखेर बनाउनुपर्छ’ उनले भने, ‘किसान राखेर नीति बनाउनसके मात्रै किसानमैत्री नीति बन्न सक्छ र वास्तविक किसान लाभान्वित हुन सक्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *