चितवन : पत्रकार शालिकराम मृत्यु प्रकरणमा उत्पन्न भएको पछिल्लो अवस्थाप्रति भरतपुर महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महानगरले बिहीबार एक विज्ञप्ती जारी गर्दै अनुसन्धानका क्रममा रहेको विषयलाई प्रभावित पार्नेगरी भइरहेको नाराजुलुस तथा प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो।

महानगरले सत्यतथ्य छानबिन गरी दोषी नछुटुन र निर्दोष नपरून भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह पनि गरेको छ। सरोकार नभएका व्यक्तिलाई गालीगलोज गरेको प्रति दुःख व्यक्त गर्दै महानगरले घट्नालाई देखाएर सडक र सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबैसँग आग्रह गरेको छ।

‘घट्नासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवं सस्थाहरूलाई जोडेर अनावश्यक टीकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न महानगरपालिका सम्बन्धित सबैसँग अनुरोध गर्दछ’ महानगर प्रमुख रेनु दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। महानगरले अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न सबैमा अपिल पनि गरेको छ।

पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। मृत्युअघि उनले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको नाम लिएपछि तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरी चितवन लगेर घटनाको अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि दोस्रो पटक ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *