काठमाडौं : राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’च च हुई’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ’सिल्की सिल्की बाल’ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् ।

गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन् । फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । सार्वजानिक गीतलाई मुस्ताङको छुसाङ्गमा छायाँकन गरिएको हो।

गीतमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।

व्यवसायी घोले यसै फिल्ममार्फत निर्माणमा आउँदैछन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।

फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । फिल्म मङ्सिर ६ अर्थात् नोभेम्बर २२ मा रिलिज हुनेछ ।

गीतका बारेमा आर्यन र मिरुनाले के भने

आर्यन सिग्देल : गीतमा डान्स गर्दा निकै रमाइलो भयो । मैले यस किसिमको गीतमा पहिलो पटक नृत्य गरेको हु । गीतमा हामीले निकै दुःख गरेका छौ । त्यहाँ बाटो बनाएको समयमा हामीले निकै दुःख गरेर यात्रा गरेका छौ । मुस्ताङको मौसम अनुसार हामीले तयारी गर्नु पर्थ्यो । हामी विहानै उठेर तयारी हुन्थ्यौ । त्यो दुःख आज पर्दामा गीत हेर्दा सबै भुले ।

मिरुना मगर : गीतमा हामी सम्पूर्ण टिमले सकेको मेहनत गरेका छौ । आर्यनजीसंग आफ्नो जोडी सुहाए जस्तो लाग्छ । गीत अनुसार हामीले प्रस्तुति दिने कोसिस गरेका छौ । गीतले दर्शकको मन जित्नेमा विश्वस्त छु ।

अमृत घोले लामा, प्रोड्युसर : हामीले फिल्ममार्फत नेपालको सौन्दर्यता पनि देखाउने कोसिस गरेका छौ । फिल्मको सम्पूर्ण छायाँकन मुस्ताङमै भएको र गीत कथा अनुसार नै प्रस्तुत हुने भएकोले दोस्रो सेड्युलमा मुस्ताङ पुगेर छायाँकन गरेका हौ । बिना सम्झौता एउटा राम्रो फिल्म बनाउने कोसिस गरेको छु ।

शिशिर खाती : मैले यो टीमसंग काम गर्न पाए, निकै खुसि छु । गीतमा हामीले पात्रअनुसारको हाउ भाउ उहाहरुलाई दिएका छौ । गीत कथा अनुसार नै प्रस्तुत हुन्छ । मुस्ताङमा सबैको सहयोग र सपोर्टले गीत तयार पारे । यसले दर्शकको मन जित्नेमा विश्वस्त छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *