• भानुभक्त आचार्य

हिजोआज शालिकराम पुडासैनीको आत्म(हत्या) प्रकरणलाई लिएर रवि लामिछानेको समर्थन वा विरोधमा युट्युब र बतासे अनलाइनहरुमा समाचार वा भिडियोमा क्लिक गराउने उद्देश्यले अनेक समाचारहरु आएकाआयै छन् । मान्छेलाई कुन समाचार सही वा गलत हो भनेर पत्याउन गाह्रो परिरहेको छ ।

अचेल सनसनीपूर्ण हल्ला फैलाएर सामाजिक अमनचयनमा खलल पारेको भनेर पनि सेयर, कमेन्ट वा त्यसको पक्षमा वकालत गर्नेलाई समेत कारबाही हुनसक्छ । तसर्थ, कुनै समाचार सही हो वा गलत भनेर चिन्न जरुरी हुन्छ । फेकन्युज चिन्नका लागि यहाँ केही उपायहरु सुझाइएको छः

१.आफूले पहिले कहिल्यै नसुनेको, नखोलेको अनलाइनबाट आएको समाचार पढ्ने बित्तिकै नपत्याउनुहोस् । सकभर त्यस्ता लेखोटहरु नपढ्नुहोस् । पत्याउनका लागि आफूले पहिलेदेखि पढ्ने गरेका, नाम सुनेको, प्रचलित सञ्चार संस्थाहरुको वेबसाइट वा अनलाइन पोर्टल खोल्नुहोस् र आफूले पाएको सूचना सही हो कि होइन भनेर दाँज्नुहोस् ।

२. कुनै पनि समाचारमा एउटा पक्षको मात्रै कुरा छ । कसैको भनाइमा मात्रै आधारित समाचार छ । उसले भनेका कुराहरु पत्याउने कुनै तथ्यहरु छैनन् । विपक्षीको भनाइ राखिएको छैन भने त्यो समाचार नपत्याउनुहोस् ।

३. कुनै समाचारको सुरुमै वा अन्यसमेत ‘यो समाचार यति पटक सेयर गर्नुहोस् र फलानोले न्याय पाउँछ’ भन्ने आशयको सन्देश छ भने त्यो समाचार नपत्याउनुहोस् । समाचार सेयर गरेका कारणले कसैले न्याय पाउँदैनन् ।

४. आफूले पढ्दै गरेको अनलाइन पोर्टलमा सम्पादकीय समूहको नाम तथा जिम्मेवारी लेखिएको छ कि छैन ? त्यो पोर्टलको कार्यालय, सम्पर्क फोन नम्बर, अफिसियल इमेल इत्यादि छ कि छैन ? यस्ता कुराले पनि कुनै अनलाइन सक्कली हो कि नक्कली भनेर चिन्न मद्दत गर्छ ।

५. कुनै अनलाइनको डिजाइन हेर्दा कुनै प्रचलित सस्थाको नाम र डिजाइनसँग मिल्दोजुल्दो हुन्छ । तर त्यो अलि असुहाउँदिलो देखिन्छ । नाम उस्तै भए पनि त्यसको हिज्जे फरक पर्न सक्छ । त्यस्तो अवस्थामा त्यो अनलाइनले दिएका समाचारहरु पत्याइहाल्नु हुँदैन ।

६. आफूले थाहा नपाएको मिडियामा कुनै महत्वपूर्ण समाचार÷सूचना आएको रहेछ भने आफूले सधैं पढ्ने पोर्टलहरुमा खोजेर दाज्नुहोस् । वा त्यस्ता सनसनीपूर्ण समाचार सेयर गर्नुअघि मिडियासम्बन्धी अलि बढी जानकारी राख्ने आफूले चिनेको साथीलाई सोध्नुहोस् ।

७. फेकन्युज बतासे अनलाइनहरु वा युट्युब च्यानलहरुले मात्रै दिँदैनन् । सिंहदरबारमा बसेका ठूला मान्छेहरुले पनि दिन्छन् । त्यस्तो बेला अलि भरपर्दा ठानिएका सञ्चारसंस्थाहरुको समाचार खोज्नुहोस् । त्यहाँ मन्त्री वा प्रधानमन्त्रीले गलत बोलेको रहेछ भने पनि तथ्यसहित समाचार दिइएको हुन्छ ।

८. प्रेस काउन्सिल नेपालमा दर्ता भएको प्रमाण देखाउँदैमा कुनै पनि अनलाइन इमान्दार र पाठकप्रति बफादार भइहाल्छ भन्ने ग्यारेन्टी हुँदैन । सनसनीपूर्ण खुलासा, यति पटक सेयर गर्नुहोस् । यता लाइक र कमेन्ट गर्नुहोस् । यता सब्सक्राइब गर्नुहोस् आदि अनुरोध दोहोर्याइ तेहेर्याइ भन्नेहरु अधिकांशले भ्रामक सूचना दिन्छन् ।

९. FactCheck.org, International Fact-Checking Network (IFCN), PolitiFact.com, वा Snopes.com जस्ता कुनै फ्याक्ट चेकिङ वेबसाइटमा गएर आफूलाई शंकास्पद लागेको वेबसाइटको उत्पति, सञ्चालन स्थान र सम्बन्धित पोर्टलका अन्य प्राविधिक पक्षहरुका बारेमा पनि जानकारी पाउन सकिन्छ । उदाहरणका लागि http://southasiacheck.org/ वेबसाइटले नेपाल लगायत दक्षिण एसियाली देशका विवादास्पद कुराहरुको यथार्थ सूचना दिन्छ ।

१०. आफूलाई भरपर्दो लागेका पाँच वा १० सञ्चारमाध्यमको नाम सूचिकृत गर्नुहोस् । कुनै पनि समाचार त्यहाँबाट मात्रै पढ्ने गर्नुहोस् । अन्यत्र कुनै जानकारी पाउनु भयो भने पनि ती पोर्टलमा समाचार रहेछ भने दाँज्नुहोस् । अनि मात्रै पत्याउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *