चितवन : चितवनमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच दोहोरो झडप भएको छ। जिल्ला प्रहरी कार्यालयअगाडि उश्रृंखल गतिविधि गर्न थालेपछि भिड नियन्त्रण गर्ने क्रममा झडप भएको हो।

प्रहरी कार्यालय अगाडि जम्मा भएका रविका समर्थकले उश्रृंखल गतिविधि गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने क्रममा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए।

बिहानैदेखि प्रहरी कार्यालय परिसरमा नारावाजी गर्दै आएका प्रदर्शनकारीले साँझपख अनावश्यक हुलदुंगा मच्चाएको प्रहरीले जनाएको छ। झडपलाई नियन्त्रणमा लिनका लागि १० सेल अश्रुग्याससमेत प्रहार गर्नुपरेको कोइरालाले बताए।

झडपका क्रममा एकजना असइसहित ७ जना प्रहरीसमेत घाइते भएको प्रहरीको भनाइ छ। यस्तै, एकदर्जन प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ। अश्रुग्यास हानेपछि प्रदर्शनकारी तितरवितर भएकाले अहिले अवस्था सामान्य भएको प्रहरीले जनाएको छ।

रवि लामिछानेसहित तीनैजनालाई जिल्ला अदालतबाट शुक्रबार ५ दिनको म्याद थप गरेपछि प्रदर्शनकारी थप आक्रोशित बनेका थिए। न्यायाधीश विनोदकुमार गौतमको इजलासले उनीहरूलाई बिहीबारबाट पाँच दिनका लागि हिरासतमा राखेर म्याद थप गर्न अनुमति दिएको हो। प्रदर्शनकारी रविलाई रिहा नगरेसम्म जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्रबाट नहट्ने भन्दै साँझपख पनि नारा लगाउँदै बसेका थिए।

प्रहरीले बिहीबार टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा प्रकरणमा दूरुत्साहन गरेको आरोपमा रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीलाई पक्राउ गरेको थियो।

पत्रकार पुडासैनी साउन २३ गते चितवनमै मृत अवस्थामा भेटिएका थिए। उनको मृत्युअघि रेकर्ड गरिएको भिडियोमा रवि लामिछाने, पत्रकार कँडेल र नर्स कार्कीको नाम लिएका थिए। सोही विषयको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *