काठमाडौं : विज्ञहरूले भूकम्पको दृष्टिले मुलुक टाइम बममाथि रहेको भन्दै समयमै आवश्यक पूर्वतयारी गर्न सरकारलाई सुझाएका छन्।

विहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यशालामा विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औँ स्थानमा रहेको जानकारी हुँदा हुदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पुर्व तयारीलाई वेवास्ता गरिएको भन्दै विज्ञहरूले तत्काल पूर्वतयारी थाल्न सरकारलाई सचेत गराएका हुन्। विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगाला तुलाधरले भूइचालोको दृष्टिकोणबाट नेपाल टाइम बममाथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्वतयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए।

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाइएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तारलगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए। उनले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालीक आवश्यकताका सूचीअनुसार राहत वितरण हुन नसकेको गुनासो गरे। सरोकारवाला तथा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सीमित हुने गरेको टिप्पणी पनि उनले गरे।

विपद्का बेला मानवीय उद्धार पहिलो प्राथमिकता भए पनि त्यसो हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानवीय संवेदनशीलता पनि खतरामा परेको टिप्पणी उनले गरे। उनले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फी लिनेहरूको भीड लाग्नु दुःखद् भएको भन्दै पहिलो उद्धारकर्ताको रूपमा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले भने, ‘बस पल्टिएको छ। मान्छे मरिरहेका छन्। छटपटाइरहेका छन्। त्यो स्थानमा पुलिस, एपिएफ पुगेका छन्। सबैले मान्छेहरू तानेर ल्याइरहेका छन्। बाँचेकाहरूले टक्क सेल्फी खिचेर हेरेरहका छन्। ऊ पनि पहिलो उद्धारकर्ता हुनुपर्ने हो। एक सेकेण्ड मात्रै समय दिँदा विपद्‍मा परेको मान्छे मृत्युबाट बच्न सक्छ । यो कस्तो कल्चर सुरु भयो ? १२ वर्ष पछिको महोत्सव जस्तो लाजै लाग्ने प्रकारको।

कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *