काठमाडौं : न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ। लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

‘लामिछानेलाई उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको हो,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले सेतोपाटीसँग भने, ‘अहिलेलाई यति नै भनौं।’

उनले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको बताए पनि विस्तृत खुलाएनन्। माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।


श्री जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन ।
मिति २०७६/०४/३० गते ।

अनुसन्धानको लागि नियन्त्रणमा लिईएको :

जिल्ला नुवाकोट बेलकोटगढी न.पा.वडा नं.३ बस्ने बर्ष २७ को शालिकराम पुडासैनी मिति २०७६/०४/२० गते राती अं.२१:४५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.१ पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठा नं.२०२ मा झुण्डी मृत्यु भएको घटनाको अनुसन्धानको सिलसिलामा news 24 टि.भि.मा काम गर्ने पत्राकार रवि लामिछाने, युवराज कँडेल र जिल्ला ओखरढुङगा खिजिदेम्बा गा.पा.७ घर घई काठमाण्डौ बस्ने रुकु भन्ने अस्मिता कार्कीलाई काठमाण्डौबाट नियन्त्रणमा लिईएको छ ।

थप जानकारीका लागि
प्र.ना.उ. एक नारायण कोईराला ।
प्रवक्ता/सूचना अधिकारी
जिल्ला प्रहरी कार्यालय, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *