• रामबहादुर थापा

नेपाली हाते कागजको माग अत्यधिक भएपनि उत्पादन न्यून रहेको छ । कागज उद्योगमा लगानी, प्रविधि र जनशक्ति अभाव छ । वनमा लोक्ता त्यसै खेर गइरहेको छ । भएका उद्योगलाई कागजको माग धान्नै धौधौ छ ।

गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित घुम्टे हाते कागज उद्योगका सञ्चालक चुराबहादुर घर्ती वर्षमा तीन लाखदेखि चार लाख थान कागजको माग आउने गरेको बताउनुहुन्छ । “मागअनुसार कागज पु¥याउनै सकिएको छैन”, उहाँले भन्नुभयो, “हाम्रोमा जम्मा डेढ लाख थानसम्म कागज उत्पादन हुन्छ ।”

चैतदेखि जेठसम्म दैनिक एक हजार थानसम्म कागज उत्पादन हुन्छ । अघिपछि दैनिक दुई सयदेखि तीन सय थानसम्म उत्पादन हुने गरेको सञ्चालक घर्तीले बताउनुभयो । चर्को घाम लाग्ने याममा कागज छिटो सुक्छ । उहाँले उद्योग सञ्चालन गरेको दुई वर्ष बित्यो । उद्योगमा उहाँसँगै पाँच जना कार्यरत छन् ।

पाँच ग्रामको एउटा कागजको मूल्य पाँच रुपैयाँ ५० पैसा तोकिएको छ । “दुई सय थानको एक कोरीको मूल्य रु एक हजार १०० पर्छ”, घर्तीले भन्नुभयो । वार्षिक झण्डै रु १० लाख बराबरको कागज बिक्री हुन्छ । लागत बढी भए पनि मुनाफा भने कम छ । “खर्च कटाएर रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म बच्छ” उहाँले भन्नुभयो, “गाउँमै उद्यमी भएर बस्न पाउँदा खुसी छु ।”

उद्योग स्थापनाका लागि तत्कालीन जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घलगायत संस्थाले आर्थिक सहयोग गरेका थिए । घर्तीको व्यक्तिगतरूपमा झण्डै रु १० लाख लगानी छ । उद्योग खुलेपछि काम खोज्दै भौँतारिन नपरेको स्थानीयवासी सीता बिकले बताउनुभयो । बिकसँगै हरिदेवी, धनमाया घर्तीलगायतले उद्योगमा काम गर्छन् । पारिश्रमिक पनि राम्रै थाप्छन् ।

लोक्ता सङ्कलन गर्न वनमा जानेले पनि उद्योगबाट काम पाएका छन् । उनीहरुले दैनिक ज्यालादारीमा काम गर्छन् । वनबाट एक खेप लोक्त ल्याएवापत रु ६०० सम्म ज्याला पाउँछन् । उद्योगले लोक्ता झिकेबापत सामुदायिक वनलाई प्रतिकिलो रु १० शुल्क बुझाउनुपर्छ । स्थानीय लोङ्गा र जइलुङ सामुदायिक वनबाट लोक्ता ल्याउने गरिन्छ । उद्योगमा बनेको कागज काठमाडौँ, भक्तपुर, पोखरालगायत शहरमा बिक्री हुन्छ । सरकारी कामकाज र हस्तकलाका सामग्री बनाउन नेपाली हाते कागजको प्रयोग हुन्छ । बढीजसो हस्तकला व्यवसायीले कागज किन्ने गरेको घर्तीले बताउनुभयो ।

हाते कागजको माग हेरेर उद्योग सञ्चालनमा ल्याइएको ताराखोला गाउँपालिका–५ सीपस्थित ‘डुडेलेक नेपाली हाते कागज उद्योग’ का सञ्चालक प्रेमबहादुर रोकाले बताउनुभयो । उद्योगमा असोजदेखि कागज उत्पादन भइरहेको छ । छ जना मिलेर खोलेको सो उद्योगमा आधुनिक प्रविधिबाट कागज बनाउने गरिन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घले लोक्ता फिट्ने (झोल) बनाउने यन्त्र उपलब्ध गराएको छ । केही वर्षअघिसम्म लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिन्थ्यो ।

चालीस ग्रामको एउटा कागजको मुल्य रु ३० पर्छ । कागजको बजारीकरणमा नेपाल हाते कागज महासङ्घले उद्यमीलाई सघाएको छ । स्थानीय डुडेलेक र अल्बाङ सामुदायिक वनबाट लोक्ता झिक्ने गरिन्छ । लोक्तालाई प्रशोधन गरी कागज निकालिन्छ । उत्पादन गर्न सके हाते कागजलाई बजारको समस्या नहुने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो । “लागत र मेहनत बढी लाग्ने हुँदा यसमा उद्यमीको आकर्षण कम छ”, उहाँले भन्नुभयो, “लगानी र प्रविधि भित्र्याएर ठूलो मात्रामा उत्पादन गर्न सके फाइदा छ ।”

उद्योगमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । बागलुङको ताराखोला, पाण्डवखानी, लेखानी, तमानलगायत ठाउँमा नेपाली हाते कागज उद्योग सञ्चालनमा छन् । लगानी र व्यवस्थापन अभावमा कतिपय उद्योग बन्द छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममा पनि बागलुङको हाते कागज छनोटमा परेको थियो ।

वनमा त्यसै खेर गइरहेको लोक्ताको सङ्कलन, उत्पादन र बजारीकरण गर्न सके जिल्लाको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ । बागलुङ ‘नेपाली हाते कागजको जिल्ला’ भनेरसमेत चिनिन्छ । बलियो, टिकाउ र किरा नलाग्ने हुँदा नेपाली हाते कागजको प्रयोग बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *