• शरद शर्मा

सरकारले विद्यार्थीको सिकाइलाई जीवन पद्धतिसँग जोड्नका लागि कक्षा १ देखि ३ सम्म विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक शिक्षाको गुणस्तर खस्किरहेको र व्यावहारिक शिक्षा प्रदान गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती कक्षामा ‘एकीकृत पाठ्यक्रम’ र ‘प्रारम्भिक कक्षा पढाइ’ कार्यक्रम सञ्चालन गरेको हो ।

यसै शैक्षिक सत्रदेखि परीक्षणको रुपमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तयार पारी १८ जिल्लाका १०३ विद्यालयमा ‘एकीकृत पाठ्यक्रम’ लागू गरेको छ । केन्द्रले नेपाली, अङ्ग्रेजी, गणित र हाम्रो सेरोफेरो चार तथा स्थानीय तहमा एक गरी पाँच  विषयमा एकीकृत पाठ्यक्रम लागू गरेको हो ।

ती पाँचवटै विषयमा एकै प्रकारका विषयवस्तु राखिएका छन् । ‘‘ विद्यार्थीलाई सानैदेखि जीवनोपयोगी शिक्षा प्रदान गर्नका लागि हामीले यस शैक्षिक सत्रदेखि एकीकृत पाठ्यक्रम शुरु गरेको हौँ’’, केन्द्रका निर्देशक गणेश भट्टराईले भन्नुभयो, ‘‘ सबै विषयमा एकै प्रकारका शिक्षा दिँदा विद्यार्थीमा सिकाइ उपलब्धिसमेत बढ्छ ।’’

विद्यार्थीले नेपाली विषयमा जे पढ्यो अङ्ग्रेजी, गणित, हाम्रो  सेरोफेरोमा समेत त्यही कुरा पढ्ने छन् । एउटा विषयमा पढेको त्यही कुरा अर्को विषयमा पनि पढ्दा विद्यार्थीको ज्ञान बढ्ने भएकोले एकीकृत पाठ्यक्रम लागू गरिएको हो ।

सरकारले प्रदेश नं १ को धनकुटा र मोरङ, प्रदेश नं २ को सर्लाही र महोत्तरी, प्रदेश नं ३ को सिन्धुपाञ्चोक र चितवनसहित काठमाडौँ, भक्तपुर र ललितपुर, गण्डकी प्रदेशको तनहूँ र गोर्खा, प्रदेश नंं ५ को दाङ र प्यूठान, कर्णाली प्रदेशको सुर्खेत र दैलेख, र सुदूरपश्चिम प्रदेशको कैलाली र डोटी तथा पहाडी जिल्लामा मुगुका  विद्यालयलाई समेटिएको छ ।

सरकाले पाँच विषय पढाउदा २९ वटा विभिन्न जीवन उपयोगी सीप पनि सिकाउने छ । साक्षरता, व्यक्तित्व विकास, सञ्चार सीप जस्ता सीप सिकाइने छ । विद्यार्थीलाई व्यावहारिक बनाउनका लागि बोल्ने तरिका सिकाउने सूचना अधिकारीसमेत रहनुभएका भट्टराईले बताउनुभयो ।

 ‘‘विद्यार्थीले बोल्दा के कसरी बोल्ने, के गर्ने के नगर्नेजस्ता कुरा सानैबाट सिकाइने छ’’ उहाँले भन्नुभयो, ‘‘विद्यार्थीको व्यक्तित्व विकास गर्नेदेखि सीप दक्षता बढाइने छ ।’’ चारवटा विषयमा भएका विषयवस्तुलाई आधार बनाइ स्थानीय तहले स्थानीय भाषामा स्थानीय पाठ्क्रयम बनाउनुपर्ने हुन्छ ।

अहिलेसम्म उपत्यकामा गोकणेश्वर, शङ्खरापुर, चाँगुनारायण, बुढानिलकण्ठ, मध्यपुर ठिमी र भक्तपुरलगायत नगरपालिकाले स्थानीय तहको पाठ्यक्रम बनाइसकेका छन् । यसैगरी सरकारले सिकाइ उपलब्धि बढाउन सन् २०१४ देखि ‘प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ शुरु गरेको छ ।

विद्यार्थीको  सिकाइ उपलब्धि वृद्धि गराउने उद्देश्यले धनकुटा, सप्तरी, पर्सा, भक्तपुर, रुपन्देही, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके बर्दिया, सुर्खेत, डोल्पा, कैलाली, कन्चनपुर र डडेल्लधुरा जिल्लाका सबै विद्यालयमा उक्त कार्यक्रम लागू गरिसकिएको हो ।

कार्यक्रमबाट विद्यार्थीको सिकाइ उपलब्धिमा प्रगति देखिएकोले केन्द्रले ताप्लेजुङ, धनुषा, रसुवा र तनहूँमा समेत आउने शैक्षिक सत्रदेखि लागू गर्ने भएको केन्द्रका निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि केन्द्रले विद्यार्थीलाई उनीहरुकै भाषामा एउटा किताब तयार पारेर दिने गर्दछ । सोही किताबमा रहेका व्यावहारिक विषयवस्तु सिकाइने छ । उक्त कार्यक्रममा विद्यार्थीको उच्चारण गर्ने ध्वनी, लेख्ने वर्ण, शब्द भण्डार, पढ्ने प्रवाह र बोध (बुझ्छ कि बुझ्दैन) जस्ता कुरा सिकाइने छ ।

केन्द्रका निर्देशक भट्टराईले कार्यक्रम लागू गरेपनि विद्यार्थीको शब्द उच्चारण गर्ने क्षमता कम भएको बताउनुभयो । उहाँका अनुसार एक मिनेटमा १८ देखि २० शब्द मात्र उच्चारण गर्ने गरेका छन् । जबकी विद्यार्थीले एक मिनेटमा ४० शब्द उच्चारण गर्नुपर्ने हुन्छ । अमेरिकालगायत मुलुकमा एक मिनेटमा ८० शब्द उच्चारण गर्ने गर्दछन् । उहाँले सिकाइ उपलब्धि ३४ प्रतिशतबाट ४८ प्रतिशत बढेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *