• यलु जोशी

काठमाडौं : घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् ।

बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताउँछन् । उनले बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी दिए ।

डा. शाक्य भन्छन्, “एक बच्चाले के सामान लियो, त्यही अर्कोलाई पनि चाहिन्छ, त्यसैमा झगडा हुन्छ, रुन्छ तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ । दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ । ”

बालशिक्षाका विशेषज्ञ कुमुद भट्ट भन्छन्, “बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ । ”

सामान्य कुरामा भनाभन हुनु, कुटाकुट गर्नु, रुनु कराउनु यी सबै सामान्य हुन् । यस्तो लडाइँ झगडाले उनीहरूमा आफ्नो कुरा स्पष्टसँग राख्ने मौका मिल्ने भट्ट बताउँछन् । साथै, आफ्नो कमजोरी पनि औँल्याउने मौका पाउँछ । जब साथीले मेरो कामप्रति चित्त बुझाउँदैन, तब उसले गाली गर्न थाल्छ । यसको मतलब के हो भने, मैले गरेको काम अरूलाई मन परेको छैन, मैले गरेको काम सबैका लागि राम्रो हुन सकेको छैन ।

“त्यही कारण उनीहरूले यसमा चित्त बुझाएनन् भन्ने बुझ्छन्,” उनी स्पष्ट पार्छन् । भट्टका अनुसार यस किसिमको झगडाले उनीहरू थप माझिँदै जान्छन् । ”प्रकृतिले सायद त्यही कारण बाल्यकालको झगडालाई स्वाभाविक बनाइदिएको हो, जसले बालबच्चालाई थप माझिने मौका मिल्छ” डा. शाक्य भन्छन्, “जब बच्चाहरू आपसमा झगडा गर्छन्, तब उनीहरू तर्क पनि गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो कुरा सही हो भनेर पुष्टि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । यसबाट के सही, के गलत भन्ने कुरा पनि छुट्याइन्छ । उनीहरू एकअर्कालाई कुटाकुट गर्छन्, रुन्छन्, तब मन सफा हुन्छ । अघिसम्मको रिसराग पखालिन्छ ।” यो पनि एक किसिको फाइदाजनक अभ्यास भएको उहाँले प्रस्ट पार्नुभयो ।

बालविशेषज्ञ रमेश मल्ल भन्छन्, “बच्चाहरू झगडा गर्दा रुन्छन्, तब उनीहरूलाई फकाउनु पर्दैन । केही समयपछि आफैँ सम्हालिन्छन् । यसको अर्थ उनीहरूले आफ्नो मनलाई आफैँ सम्झाउने तथा भावनात्मक रूपमा बलियो बनाउने क्षमता वृद्धि हुन्छ । ”

झगडापछि एकैछिनमा एकअर्कासँग बोल्छन्, घुलमिल हुन्छन्, खेल्न थाल्छन्, रमाउन थाल्छन् । खेल्दाखेल्दै उनीहरूबीच मतान्तर हुन्छ । फेरि तनाव सुरु हुन्छ । एकले अर्कालाई आरोप लगाउन थाल्छन् । एकले अर्कालाई गाली गर्न थाल्छन् । उनीहरूमा यस्तो काम बारम्बार भइनै रहन्छ, त्यसमा अभिभावकले दिक्क भने मान्नु नहुने उन सुझाव छ । ”शाक्यले बाल्यकालमा चुपचाप बस्ने, झगडा नगर्नेमा बालमस्तिष्कमा कुनै समस्या भएको भन्न सकिन्छ । त्यसैले झगडा गर्न दिनुपर्छ” उनले भने, “बाल्यकालमा गरेको फट्याइँ, धुत्र्याइँ, झगडा, लुछाचुँडी । यिनै कुरा सम्झेर तपाईं आज आफ्नो बाल्यकालमा फर्कन चाहनुहुन्छ । ”

बाल्यकालमा आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई दुःख दिएको, खानेकुरा खोसेर वा लुकाएर खाएको, लुगाको निहुँमा झगडा गरेको, खेल्दाखेल्दै कुटाकुट गरेको स्मरण गर्दा कति रमाइलो हुन्छ । अहिलेका अभिभावकले भने झगडा गर्छ भनेर बालबालिकालाई मोबाइल दिने गर्नुहुन्छ, जसले गर्दा बालबालिकामा गेमिङ डिसअर्डरको समस्या देखा पर्न थालेको छ ।

अहिले बालबालिकालाई मोबाइल, ट्याब हेर्दै फुर्सद छैन, कहाँबाट झगडा गर्नु, के खेल्नु ? “यो समस्याको विषय भएको छ,” उनको भनाइ छ । बालशिक्षा विशेषज्ञ भट्ट थप्छन्, “साना बालबच्चाहरू दाजुभाइ, दिदीबहिनीमा आफूआफू लडाइँ झगडा गर्छन्, हामीलाई थाहा छैन, यो बालसुलभ प्रवृत्ति हो । बालापनको सौन्दर्य पनि हो ।” गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *