• रामप्रसाद गौतम

अर्थशास्त्र भनेको सीमित साधनलाई असीमित आवश्यकताबीच प्रयोग गर्दा आवश्यकताको प्राथमिकीकरण गर्ने क्षमता हो भनी विद्वान् रविन्सनले भन्नुभएको थियो । त्यसपछि अर्थशास्त्र भन्नाले साधन विशेषगरी पुँजीको तार्किक प्रयोगमा जोड दिँदै आएको पाइन्छ ।

तर, वास्तवमा अर्थशास्त्र भनेको साधनको सही र छनोटपूर्ण प्रयोगमात्र होइन, विभिन्न विकल्पमध्ये सबैभन्दा राम्रो विकल्प छनोट गरेर मनग्य धन आर्जन गर्ने कला पनि हो ।

त्यसैले मानवले खर्च गर्ने कलाभन्दा कमाउने कलामा बढी ध्यान दिन आवश्यक छ । कमाउने कला अनेक छन्, त्यसमा उद्यमी बन्नु अति महत्ववपूर्ण, दीर्घ उपयोगी सँगसँगै जोखिमपूर्ण काम हो । धन  (पैसा) कमाउन लगानी त चाहिन्छ नै त्योभन्दा बढी सिर्जनशीलता चाहिन्छ ।

जीवनको अर्थशास्त्र भनेको कमाउने, खर्च गर्ने र बचत गर्ने अनि बचत परिचालनको चर्खा हो । अर्थशास्त्रको राजा कमाइ नै हो, त्यसैले कमाउने कामका अनेक विकल्प खोजिनुपर्छ । नेपालमा पनि धन कमाउने अनेकौँ काम छन् । झट्ट आँखाले देखिनेगरी फस्टाएका कमाइका कामहरू हेरौँ :

ठेलामा नास्ताको व्यापार (ब्रेक फास्ट पोइन्ट)

पैसा कमाउनु छ भने कुनै चोक वा कुनै छहारीमा ठेला राखेर एउटा राम्रो, सबैले खान मन पराउने नास्ताको व्यापार गर्नेले राम्रै कमाइ गरेको देखिन्छ ।

जस्तै चनाचटपटे, मःमः, पानीपुरी वा राम्रो सुख्खा रोटी र तरकारीको व्यापारलाई आफ्नो वास्तविक पेसा सम्झेर काम गर्ने र ठूलो आकाङ्क्षा नराखेर काम गर्ने हो भने सहरी क्षेत्रमा दिनको दुई हजारदेखि पाँच हजार कमाउनलाई विदेश जानुपर्दैन ।

लप्सीको माडा

लप्सीबाट बनाइने पाउँ, इमिली आदिलाई सफा प्लास्टिकमा पोका पारेर बिक्री गरे पनि हुन्छ । जहाँ भर्खरका किशोरीहरूको आवतजावत बढी हुन्छ, त्यो ठाउँमा पाउँ बेचेर पनि कमाइ राम्रै गरेको हामीले नै देख्छौँ ।

लप्सीबाट अनेक चीज बनाउन पनि सकिन्छ, बिक्री पनि अति हुने भएकाले लप्सीबाट बन्ने खाद्य पदार्थको व्यापार अहिले अति नै राम्रो पेसा हो । व्यावसायिक उत्पादनमा लाग्ने हो भने यो अति नै राम्रो पेसा हुन सक्छ ।

परामर्श सेवा

आजको मानिस ज्ञान नभएर होइन कि ज्ञानको ठीक ठाउँमा प्रयोग गर्न नजानेका कारणले समस्यामा छ । त्यसैले पढाइसम्बन्धी होस् वा तनाव भगाउनेसम्बन्धी होस्, अन्य यस्तै अनेक क्षेत्र छन्, जहाँ मज्जाले परामर्श सेवा (कन्सल्टेन्सी) खोलेर पनि धन आर्जन गर्न सकिन्छ ।

अहिले मनोविज्ञान अध्ययनकर्ताको ‘स्कोप’ पनि राम्रो छ । तर, त्यसका लागि आफ्नो धारणात्मक र विचारात्मक मनोवैज्ञानिक सीप आवश्यक हुन्छ । कुनै पनि विषयको कन्सल्टेन्ट बनेर काम गर्न सक्ने अवस्था छ ।

युट्युब च्यानल

सिर्जनशीलता छ र यससम्बन्धी ज्ञान छ भने युट्युब च्यानलबाट पनि ठिकै कमाइ गर्न सकिन्छ । आफ्नो विषय, रुचि र ग्राहकको रुचिभित्र रहेर भिडियोको सान्दर्भिकता मिलाउन सक्नुपर्छ ।

गीत, हास्य कार्यक्रमलगायत कुनै पनि मानवीय रुचिका विषयको जानकारी दिनका लागि युट्युब च्यानल एउटा राम्रो पेसा हो तर यसमा टिमवर्क हुनुपर्छ, चाहे त्यो सानो टिम किन नहोस् ।

इमेज बिल्डर

कुनै व्यवसाय, राजनीतिक पार्टी, नेता वा कुनै संस्थाको नजानिँदोपाराले ख्याति बढाउनका लागि गरिने लेख लेख्ने, नियमित सुधारको अभ्यास गराउने, पूर्ण गुणस्तर व्यवस्थापनको प्रयास गर्न लगाउने । अरूले थाहा नपाउनेगरी कसैको इमेज (छवि) राम्रो बनाउन गरिने प्रयासलाई इमेज बिल्डिङ भनिन्छ । यो कुनै विषयको विज्ञहरूले मात्र गर्न सक्ने भन्ने पनि हुँदैन ।

कम्पनी, राजनीतिज्ञ, बिक्रेता जोकोहीले पनि यो पेसा अपनाउन सक्छ । योबाहेक आफ्नै तरिकाले शुल्क लिएर इमेज बढाउने काम पनि गर्न सकिन्छ । तर, वास्तविकताभन्दा बढाइ–चढाइ बढी गरिएमा ग्राहक झुक्किन सक्छन् । त्यसैले यथार्थको धरातलमा टेकेर इमेज बिल्डिङको काम गर्न सकिन्छ । यसमा महिलाहरू बढी क्षमतावान् हुन्छन् ।

लाइफ कोच

अहिले धनी देशमा मौलाएको पेसा हो– लाइफ कोच (जीवन प्रशिक्षक) । यसअन्तर्गत तपाईं धेरै बरालिएका मानिसको लाइफ कोच बन्न सक्नुहुन्छ र तिनको भविष्य निर्माण गरिदिन सक्नुहुन्छ ।

लाइफ कोचले धेरै मानिसलाई सही बाटोमा लाग्ने उत्प्रेरणा सिर्जना गर्न सक्छ । मानिसभित्र अन्तर्निहित क्षमतालाई उजागर गरेर केही फरकपन दिनका लागि प्रेरणा दिन सकिन्छ । यो नेपालका लागि नयाँ तर चल्ने व्यवसाय हो ।

फिटनेस ट्रेनर

मानिसलाई स्वस्थ, तन्दुरुस्त र सुन्दर बनाउनका लागि फिटनेस ट्रेनर (शारीरिक तन्दुरुस्तीको प्रशिक्षक) का रूपमा काम गर्न पनि सकिन्छ । व्युटिपार्लरअन्तर्गत सामान्य फिटनेसको अभ्यास गराएर वा नयाँ कुनै अभ्यास केन्द्र खोलेर यस्तो सेवा दिन सकिन्छ ।

भाषा शिक्षण

जापनी, कोरियाली, अङ्ग्रेजी, चाइनिज, फ्रेन्चलगायतका भाषा शिक्षणको काम पनि अहिले अति बिक्ने पेसा भएको छ । तर, आफू कुनै भाषामा पूर्ण दक्ष हुन जरुरी छ । अहिले लोकसेवा आयोगको पाठ्यक्रमको प्रशिक्षक बनेर पनि राम्रै कमाइरहेका छन् । तर, यो अलि चुनौतीपूर्ण छ ।

इभेन्ट म्यानेजिङ (समारोह व्यवस्थापन)

यसमा राम्रो टिम, राम्रो नेटवर्क छ भने राम्रो कमाइ हुने काम भोजभतेर, नाचगान, भेला आदि जस्ता ‘इभेन्ट’ को सम्पूर्ण व्यवस्थापन गर्नु हो । यसमा धेरै काम र ठूलो टिम चाहिन्छ ।

कार्यक्रमस्थल बनाउने, खाने व्यवस्था गर्ने, कार्यक्रम तालिका बनाउनेलगायत धेरै काम यसअन्तर्गत पर्छ । यो नगद कमाइ हुने ठूलै व्यवसाय हो तर टिम र सीप आवश्यक छ । इभेन्ट म्यानेजिङ पुरानो पेसा हो तर समयसापेक्ष थप आधुनिक र चुस्त–दुरुस्त हुन आवश्यक छ ।

घोस्ट राइटिङ

आजको समयमा सार्वजनिक स्थानमा बोल्दा ज्यादै नै ध्यानपूर्वक बोल्नुपर्ने हुन्छ । ठूला नेताको क्षमता उसको सार्वजनिक बोलीमा प्रस्ट देखिने हुँदा, नेताहरूको भाषणको लेखक वा गाइड लाइनर बन्नु पनि राम्रै पेसा हुन सक्छ । भारतका प्रधानमन्त्रीले जुन ठाउँमा जुन परिवेशमा बोल्नुपर्ने हो, त्यसैअनुरूप बोलेको सुनिन्छ ।

नेपालकै प्रधानमन्त्रीको महत्वपूर्ण मञ्चमा गरिने भाषण ओजपूर्ण हुन्छन् । एकैदिन चार ठाउँमा अलग धारणा बोल्नका लागि भाषण लेखक आवश्यक हुन सक्छ । त्यसैले घोस्ट राइटिङ पनि एउटा पेसा हुन सक्छ । यसका लागि भाषणकर्ताले पूर्ण विश्वास गर्नलायक लेखन कला हुन जरुरी छ । तर, यो जोकोहीले चाहेरमात्र सम्भव छैन ।

चुनाव व्यवस्थापन

चुनावमा जित्नु सानो परिश्रमको काम होइन । चुनावमा पार्टीको छवि उज्यालो बनाउन सामाजिक सञ्जालको सञ्चालनदेखि झन्डा, टी–सर्ट बनाउने, व्यानर, पम्प्लेट बनाउने, गाडी व्यवस्थापन गर्ने, मञ्च बनाउनेलगायत धेरै कामका लागि व्यापक पैसा खर्च हुन्छ । यी कामका लागि एउटा टिम बनाएर लाग्ने हो भने विभिन्न चुनावमा राम्रै कमाउन सकिन्छ । भारतमा हालै सम्पन्न

चुनाव झन्डै १० खर्ब रुपियाँ खर्च भएको थियो । नेपालमा पनि चुनाव खर्च खर्बकै वरिपरि हुन्छ । जहाँ खर्च हुन्छ, आम्दानीका बाटो पनि त्यतै खोज्न सकिन्छ ।

यी नयाँ जमानाअनुसारका नयाँ जीवन निर्वाहका पेसा हुन्, जो थोरै पुँजीमा सञ्चालन गर्न सकिन्छ । गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *