• नारायण ढुंगाना

काठमाडौं : कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो । उक्त सजिव चित्रमात्रै होइन अहिले चल्तीमा रहेको सुन्दर र आकर्षक देखिने नेपाली नोट होस् या स्वस्थानी ब्रतकथाको पुस्तकमा रहेका चित्रहरु नै किन नहुन् ।

नेपाली कला क्षेत्रका मूर्धन्य कलाकार केशव दुवाडीको योगदान राष्ट्रका लागि अतुलनीय छ । विराटनगरमा १९७८ मङ्सिरमा जन्मिइ २०५३ साल पुस १८ गते निधन भएका दुवाडीको जीवनकाल नै कला साधनामा बितेको थियो । “धेरै छ दुवाडीका योगदान, न राज्यले खोज्न सकेको छ, न उहाँका शुभचिन्तकले नै, स्वस्थानीमा हेर्नुहोस्, नेपाली नोट नै भन्नुस्, जीवन्तता केमा कमी छ ? उहाँलाई सम्झनै पुगेन”, भेटवालले उल्लेख गरे ।

गम्भीर कथालाई सहजरुपमा चित्रमा उतार्न सफल नेपाली चित्रकला जगत्का ख्यातिप्राप्त कलाकार केशव दुवाडी जुद्धकला पाठशालाका पहिलो हेडमास्टर हुन् । विसं २०२४ ताक ललितकला महाविद्यालयका प्रमुख थिए । उनको बाह्रखरी वर्णमाला, दृष्टान्त चित्र, मुहारचित्रमा ठूलो योगदान छ । उनले अहिले चल्तीमा रहेको नेपाली नोट (रु एक, पाँच, १०, ५०, १००, ५०० र एक हजार) को डिजाइन गरेका थिए । उनले भारतबाट ‘फाइन आर्ट’मा स्नातक गरेका थिए ।

बुबाले कोरेका चित्रहरु हेर्दा आफूलाई पुराना दिनहरु ताजा भएर आउने छोरा प्रदीपकुमारको भनाइ छ । उनले बुबा भएर होइन की एउटा राष्ट्रको कलाकार भएर सोच्दा साँच्चै नै राज्यले सम्झन नसकेको महसुस भएको बताए । सम्झना बाँचिरहोस् भनेर तीन वर्षअघि परिवारले ‘केशव दुवाडी स्मृति प्रतिष्ठान’ स्थापना गरी प्रदीपले नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको कोषमा केही रकम थपिदिए पनि सरकारले योगदान गरेको छ भन्न पाइने उनी बताउँछन् ।

प्रतिष्ठानले दृश्य चित्र, व्यक्ति (मुहार) चित्र, दृष्टान्तचित्र, स्वस्थानी कथामा आधारित धार्मिक चित्रसहित उनका योगदान र जीवनी बुझाउने उद्देश्यले वृत्रचित्र नै तयार पारेको छ । झण्डै आठ महिना लगाएर रु एक लाखको लागतमा वृत्रचित्र निर्माण गरेको लेखक तथा निर्देशक रमेश खनालले बताए ।

“यसले केशव दुवाडी को हो ? भन्ने चिनारी दिन्छ, तर उहाँको योगदानलाई हामीले बिर्सनु भएन, यस्ता कलाकार ओझेलमा छन्, उहाँहरुलाई राज्यले र चेलाहरुले सम्झनु पर्छ” खनालले थपे ।

तत्कालीन अवस्थामा श्री ५ वीरेन्द्र अध्यक्ष हुँदा तत्कालीन ललितकला संस्था (हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान)मा आठ वर्ष उपाध्यक्ष र दुई वर्ष सल्लाहकार भएर काम गरेका थिए । ग्राफिक्समा दख्खल भएका, धार्मिक सोचका र विचारले प्रष्ट दुवाडीका चित्रहरु ठूलो वर्णमाला, पाठ्यपुस्तकमा धेरै समावेश भएका छन् ।

विगतमा उनको योगदान प्रशंसायोग्य रहेको स्मरण गर्दै वरिष्ठ मूर्तिकार तथा प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुरप्रसाद मैनालीले दुवाडीको योगदान स्मरण गर्दै भने, “राजा वीरेन्द्रको अगाडिसमेत नाईँ भन्न सक्ने मान्छे ।” उनी धेरै काममा दुवाडीसँगै काम गरेका थिए ।

सुविधा नभएको बेलामा समेत उनका प्रष्ट चित्रले धेरैलाई प्रभावित बनाउँथ्यो । काठमाडौँको गौरीघाटमा उनको घरमै ललितकला प्रज्ञा प्रतिष्ठानले संग्राहालय स्थापना गरेर दुवाडीको योगदानलाई ताजा बनाएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति कान्छाकुमार (केके) कर्माचार्यले उनले बनाएको मुहारचित्र सजीव र सुन्दर तथा जीवन्त रहेको स्मरण गरे ।

अहिले बनेको वृत्रचित्रले उहाँका कृतित्व र जीवनीलाई उजिल्याउने प्रयास भएको कर्माचार्यको भनाइ छ । “दुवाडीको योगदान ओझेलमा छ, नाफाले विगतमा सङ्ग्रहालय बनायो, अब उहाँको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने तयारीमा छौँ, अझै खोज र अनुसन्धान हुनुपर्छ”, कुलपति कर्माचार्यले थपे ।

वरिष्ठ कलाकार हरिप्रसाद शर्माले उनीजस्ता धेरै कलाकारलाई राज्यले सम्झन नसकेको भन्दै दुखेसो गरे । दुवाडीले कलाको कक्षा दिँदा आफू दोस्रो समूहमा परेको शर्माको स्मरण छ । उनका कलामा भारतीय प्रभाव थियो । शर्माले उनको योगदान सम्झँदै भने, “राष्ट्रप्रेमी व्यक्ति, उत्कृष्ट चित्रकार हुनुहुन्थ्यो तर राष्ट्रले चिन्न सकेको छैन, चिन्न नसकेका व्यक्तिमा चन्द्रमान मास्केसमेत हुनुहुन्छ ।” उनको जीवनीमा निर्माण भएको ३० मिनेटको वृत्रचित्रले ती विगतका पलहरु ताजा गराएको कलाकारहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *