काठमाडौं : बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छन् ।

लैंगिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी हुन् । उनी तेस्रो लिंगी हुन् ।

संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको हो । यो सूचीमा पर्न भूमिकाले केवल तेस्रो लिंगीको अधिकारका लागि मात्र काम गरेकाले भने होइन ।

भूमिकाको वास्तविक नाम कैलाश श्रेष्ठ हो । बाल्यकालदेखि नै पुरुषभन्दा महिलाको चरित्र देखिएपछि शुरुमा परिवारले उनको स्वभावलाई बालसुलभ कामको रुपमा लिएका थिए । तर ११ वर्षको हुँदा पनि त्यो व्यवहार परिवर्तन हुनुको साटो बढ्दै गयो ।

“बल्ल मैले म अरुभन्दा फरक छु भन्ने महसुस गर्न थाले,” श्रेष्ठले बाल्यवस्था स्मरण गरिन्, “केटीले जस्तै गाजल लाउने, दुईचुल्ठी बाट्ने, फ्रक लाएर खेल्न जाने अनि कम्मरमा गाग्री बोकेर हिंड्दा सबैले उल्याउँथे ।”

उनी आठ वर्षको हुँदा उमेरमा बुबा बिते । आमाको सहारामा हुर्किंदा स्कुलमा केटाहरूले केटी भनेर जिस्काउने, शौचालय जाँदा दुव्र्यवहार गर्ने, शिक्षकले केटा जस्तो भएर यस्तो किन गरेको भनेर हरेक दिन श्रेष्ठलाई गाली गर्थे । “भोलि कपाल काटेर केटा जस्तो भएर नआए सजाय दिने भनेर प्रिन्सिपलले भनेपछि दशकक्षाको पढाइ नै छाडे,” उनले पीडा पोखिन् ।

कैलाशबाट भूमिका बनेपछि …

फरक पहिचानकै कारण अनेक समस्या भोग्दै उनी १७ वर्षको उमेरमा ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा पुगिन् । त्यहीबाट उनी कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ बनिन्।

सन् २००४ ताका नेपाल टेलिभिजनले सञ्चालन गर्ने हाम्रो काठमाडौं कार्यक्रममा उनले पहिचान खुलाएरै अन्तरवर्ता दिएपछि लुकेका धेरै तेस्रो लिंगी बाहिर आए ।

लैंगिक पहिचान भनेको महिला र पुरुषको मात्र हैन समाजमा रहेका हरेकको हुनुपर्छ भनेर सुनिलबाबु पन्त, पिंकि गुरुङ लगायतसँग हातेमालो गर्दै पहिचानको अधिकार प्राप्त गर्ने यात्रामा सामेल भए ।

कानूनी लडाइको सफलता

विसं २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले विभेदकारी कानून खारेज गरी तेस्रो लिंगी तथा लैंगिक अल्पसंख्यकलाई अन्य नागरिक सरह अधिकार दिन सरकारलाई निर्देशन दिदै फैसला गर्यो । सरकारलाई फरक लैंगिक पहिचान भएकै आधारमा मौलिक हकबाट बन्चित नगर्न भनेपछि संसद्ले कानून बनाउने बाटो पायो सुनिलबाबु पन्तले तेस्रो लिंगीका तर्फबाट सर्वोच्चमा दायर गरेको रिटमा त्यो परिवर्तनकारी निर्णय भएको श्रेष्ठ बताउँछिन् ।

नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले तेस्रो लिंगी तथा लैंगिक अल्पसंख्यकको हक सुनिश्चित गरेको छ । संविधानमै तेस्रो लिंगीको अधिकार उल्लेख गर्ने दक्षिण अफ्रिका, इक्वेडरपछि नेपाल तेस्रो राष्ट्र हो ।

थपियो उत्साह …

सूचीमा परेपछि प्रतिक्रिया दिँदै उनले काममा सक्रिय हुन ऊर्जा थपिएको बताइन्। ‘‘सूचिमा परेको खबर पाएपछि निकै उत्साहित भएको छु,” उनले भनिन्, “अब उपलब्ध हुने मञ्चमा नेपालमा व्याप्त लैंगिक असमानता हटाउने उपायबारे बहस चलाउनेछु ।”

३२ वर्षीया श्रेष्ठ हाल तेस्रो लिंगीको हकहितका लागि काम गर्ने संस्था ब्लु डायमण्ड सोसाइटीमा कार्यक्रम व्यवस्थापक, यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघमा उपाध्यक्ष, यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्चमा कोषाध्यक्ष, महिलाको लागि लैंगिक समानता सम्बन्धि काम गर्ने संस्था ‘लुम’मा सल्लाहकारलगायतका बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छन् । यो लेख चाँदनी हमालले गोरखापत्र दैनिकमा लेखेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *