पवित्रा घिमिरे    


पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध ३० वर्षदेखि जंगलमा बास बस्दै आएका छन्। निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जंगलमा बस्छन्।

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजीकै पठाएका थिए। उमेरले करीब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गरे।

‘पहिले पनि मेरो नजीक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए ‘, सुनारीले गुनासो गने।

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि गाउँलेले दुर्व्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको बताउँछन्। सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आएका थिए।

बुढेसकालको शरीर जंगलको बास, पानी पर्दा र रातमा जंगली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारी बताउँछन्।

अहिले भने गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरेको उनले बताउँछन। सुनारी विगत ३० वर्षदेखि खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएकी छन्।

माइक्रो ब्याक्ट्रेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइराला बताउँछन्। कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुर्व्यवहार हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *