काठमाडौं : बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ ।

शहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुबै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्‍याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो ।

सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुर सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ ।

अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एण्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी कार्ससन–पेग र उनका सहकर्मीले बालबालिकालाई कलिलै उमेरमा पढाउनु खतरा हुने उल्लेख गरेका छन् ।

बालरोग विशेषज्ञ रमेश मल्लले हामी विद्यालयको भन्दा आफ्ना नानीबाबुमा दोष देख्छौं, यो गलत भएको बताए । बालविशेषज्ञ मल्ल भन्छन्, ‘‘पढाइ सामग्रीमा राम्रो गर्न नसक्ने बालबालिकालाई पढाइमा सुस्त भएको भनिन्छ, यो भन्नु गलत हो, सबै बच्चामा छिटो सम्झन सक्ने क्षमता हुँदैन तर त्यो बच्चालाई सुस्त भन्न मिल्दैन ।’’

मनोचिकित्सक रिचा अमात्य भन्छिन्, ‘‘कक्षामा सबै बालबालिकाले एउटै रफ्तारमा सिक्नुपर्छ भन्ने मान्यतामा विद्यालय आधारित हुन्छ, यही कारण बालबालिका विभिन्न रोगको सिकार हुनपुग्छन् ।’’

अरूसँग बोल्न डराउने, विद्यालय जान हिच्किचाउने, खान मन नगर्ने, विद्यालय जानुप¥यो भने विभिन्न बहाना गर्नेजस्ता समस्या आउन सक्ने डा. अमात्यले प्रष्ट पारिन् ।

यदि शिक्षकले भनेको कुरामा बालबालिकाले ध्यान दिइरहेका छैनन्, धेरै समय कल्पना गरिरहेका छन् वा आफ्नो सिटमा छटपटिएर बसिरहेका छन् भने उनीहरूलाई एकाग्र हुन नसक्ने विकार ‘एटेन्सन डेफिसिटर हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी)’ हुन सक्ने जानकारी उनले दिइन् ।

मनोचिकित्सक अमात्य भन्छिन्, ‘‘सानो उमेरमा धेरै पढाइ वा कुनै कामको दबाब बालबालिकालाई दिएमा एडीएचडीको सिकार हुनुपर्ने अवस्था आउँछ ।’’

बालबालिका हास्ँने खेल्ने उमेरमा विद्यालयको नियममा बस्नुपर्दा उनीहरूको व्यक्तित्वमा हानि भइरहेको ठम्याइ डा अमात्यको छ । उनले भनिन, ”कलिलो उमेरमा आफूहरूमाथि थोपरिएको शैक्षिक अपेक्षा धेरैले पूरा गर्न सक्दैनन् अनि अपेक्षा अनुरूप नभएपछि विभिन्न रोगको सामना गर्नुपर्छ ।”

बालबालिकालाई छिटोभन्दा पनि उनीहरूको शारीरिक र मानसिक विकास राम्रो भएपछि मात्रै विद्यालयमा भर्ना गरिनु उपयुक्त हुने बताउनु हुँदै डा. अमात्यले सानो उमेरमै विद्यालय पठाउने अभिभावकको प्रवृत्तिविरूद्ध आवाज उठाउनुपर्ने बताइन् ।

डा. अमात्यको सुझाव छ, ‘‘हामी ‘फलाना बच्चा यस्तो छ, फलनाको छोराछोरी यस्ता छन्’ भनेर अरूसँग तुलना गर्दै आफ्ना छोराछोरीलाई पनि त्यस्तै होस् भन्ने चाहन्छौं, यो सबैभन्दा ठूलो गल्ती हो, आफ्ना बच्चालाई अरूसँग तुलना कहिल्यै पनि गर्नु हुँदैन ।’’

उन थपिन्, ”बच्चामाथि हामी आफ्ना रुचि र आकाङ्क्षा अनुरुप गरिदेऊ भनेर व्यवहार गर्छौं, तर हामी कहिल्यै बुझ्दैनौं कि बालबालिका के चाहन्छन्?”

बालबालिकालाई चार वर्ष पूरा भएपछि मात्रै विद्यालयमा राख्दा राम्रो हुने सुझाव धेरैको छ । आफ्नो फुर्सद नहुने भएपछि दुई वर्ष नहुँदै बच्चालाई विद्यालय पठाउने प्रचलन शहरी क्षेत्रमा बढ्न थालेको छ ।

छतकुली प्रारम्भिक बालशिक्षा विशेषज्ञ तथा हाइड एण्ड सिक स्कुलका प्रिन्सिपल कुमुद भट्ट भन्छिन्, ”मलाई बच्चासँग खेल्न र रमाउनमै बढी आनन्द लाग्छ । जुन कुराले मलाई आनन्द दिएको छ, त्यसैलाई मैले आफ्नो पेशा बनाएकी छु ।”

”मलाई बच्चासँग खेलिरहँदा, बच्चालाई कुनै कुरा सिकाइरहँदा दिक्क लाग्दैन वा त्यसलाई म आफ्नो ड्युटीको रूपमा मात्र बुझ्दिनँ, त्यो मेरो रुचिको विषय हो, यसरी नै हरेक बच्चाका रुचि हुन्छन्, त्यसलाई हामीले बुझ्न सक्नुपर्छ,” प्रिन्सिपल भट्ट आफ्नो अनुभव सुनाउँछिन् ।

जापानमा अर्ली चाइल्डहुड एजुकेसनबारे तालिमसमेत लिएर आएकी भट्टले भनिन्, ‘‘बालबालिकालाई पनि रुचि अनुरूपकै लक्ष्य निर्धारण गराउनुपर्छ । जब बच्चालाई रुचि र क्षमता अनुरूप लक्ष्य बनाउन सहयोग गरिन्छ, तब बच्चाले बाटो बिराउँदैनन् । बच्चाले आफ्नो लक्ष्य पहिल्याएपछि उनीहरूलाई हामीले कुनै कुरामा रोकटोक गरिरहनु पनि जरुरी हुन्न ।’’

उनले जापानी समाजमा बच्चालाई स्वतन्त्रपूर्वक हुर्काइन्छ, त्यहाँ बच्चालाई कुनै कुरामा रोक लगाइँदैन, यहाँ पनि यस्तै प्रणाली हुन सके बालबालिकालाई राम्रो हुने बताइन् । विदेशमा जस्तै हाम्रा नानीबाबुलाई चार पूरा भएर पाँचमा टेकेपछि विद्यालय भर्ना गर्न उपयुक्त हुने सुझाव पनि उनले दिइन् ।

यता फाउण्डेशन फर इकोनोमिक एजुकेशनको वेबसाइटमा ‘यू.एस. सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले अमेरिकामा ४ देखि १७ वर्षबीचका लगभग ११ प्रतिशत बालबालिकामा एडीएचडी रहेको पहिचान गरिएको रिपोर्ट सार्वजनिक गरिएको छ, जसमध्ये एक तिहाइ ६ वर्ष मुनिका बालबालिका छन् ।

यो खबर आजको गोरखापत्रमा यलु जोशीले लेखेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *