रमेश केसी    


बझाङ : द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन्।

चार/पाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन। मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए।

यो विसं २०६०/६१ कुरा हो। तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारीसँगै उनलाई पनि आफ्नै फौजमा लगे। कति यातना दिए, कति गाली खानुपर्‍यो त्यो क्षण सम्झिदा पनि अहिले उनका आँखा रसाउछन्। सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सिसकेका थिए। सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन्।

तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङ्गमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए। त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन। दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) चार/पाँच वर्षका थिए। दिदी बेपत्ता भएपछि उनी एक्लै भए। सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन्।

तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन्। उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन।

 ‘धेरैसँग हार गुहारसमेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पु¥याइदिन चाहेन्न उल्टै आफूले पाल्ने र आफैसँग बस भनेर भन्थे’, उनले पुराना दिनहरु सम्झिँदै भने, ‘मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइन’ एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो।

सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले। विस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए। त्यो कुन ठाउँ थियो अहिले उनीलाई याद छैन । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले।

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी गर्न बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे। उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले। कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायासँग भयो।

कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए। उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो। खोजी गर्दै जाँदा रोल्पाको दुर्गम गाउँ मणि गाउँपालिका–१ एक जबाङ गाउँका भएको पत्ता लाग्यो।

वर्षौसम्म घरबाट छोडिएका घर्ती आफ्नो घर जान पाउने भए। गाउँपालिकाका अध्यक्षसहितको टोलीले शनिबार गाउँपालिकाकै खर्चबाट उनलाई उनको घरसम्म पुर्‍याइ दिए।

गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो। त्यसपछि त उनको घरसमेत पत्ता लाग्यो।

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको परिवारमा एकाएक खुशी छायो। उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसकेका थिए। ‘भिडन्तमा परेर छोराको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौँ’, उनले आँखा रसिलो पार्दै भने, ‘हामीले छोराको खोजी त धेरै गरेका थियौ।’

प्रताप घर्तीलाई उनको घरसम्म पुर्‍याउन गएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भने, ‘हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पुर्‍यायौँ। घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागतसमेत गरे।

प्रतापको घर अहिले पनि खरले नै छाएको छ। हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो आन्दोलन गरे। प्रतापका बुबाले टेलिफोनमा कुरा गर्दै दुखेसो पोखे। परिवर्तन त हुने खानेका लागि मात्रै रहेछ। हामी जस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन।

प्रतापकी दिदी मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो। तर उनका बुबा खलवीर घर्तीले मनकुमारी पनि अहिले जीवितै छिन्। उनी त्यति बेला भागेर भारतमा गएकी र उतै विवाह गरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *