मुलुकी ऐन अदालती बन्दोबस्तको ३ मा अड्डा बसेदेखि बन्द नभएसम्म अड्डामा आफूले गर्नुपर्ने अड्डासम्बन्धी काम कुरा बाहेक अरु कुनै काम कुरा वा ठट्टा मस्करी गर्न र गर्न दिन हुँदैन भनी नेपाल जेठो कानूनले नै त्यसरी उल्लेख गर्नुले काम गर्ने कर्मचारी अनुशासित हुनुपर्छ बुझाउँछ।

सभ्य र संयम हुनुपर्छ भन्ने सन्देश दिएको प्रष्टसँग बुझ्न सकिन्छ। हाकिमले आफू मातहतका कर्मचारी त्यसमा पनि महिला कर्मचारीमाथि आँखा गाडेको, जिस्काएको, शरीरमा हातले छोएको वा हातैले छोएर काम अहृाउने वा ढाडमा सुम्सुमाउदै स्याबासी दिने वा एकान्तमा उच्छ्श्रृंखल कुरा गरेर महिला कर्मचारीमाथि असभ्यता प्रस्तुत गरेका घटनाहरूका बारेमा हामीलार्इ दिनहुँजसो कुनै न कुनै रुपमा जानकारीमा आउने गरेका छन्।

कार्यस्थलमा हुने यौनजन्य हिंसाका घटनाबारे उजुरी गर्न र पीडकलार्इ सजाय दिनसकिने गरी कार्यस्थलमा हुने यौन हिंसाबारे व्यवस्था गर्ने ऐन कार्यान्वयनमा आएको छ।

कार्यस्थलमा हुने यौनजन्य हिंसाका बारेमा ऐन कार्यान्वयनमा आएपछि केही मात्रामा भएपनि महिलाहरू कार्यालयमा सुरक्षित महसुस गर्न थालेको कर्मचारीका रूपमा रहेका महिलाहरूले बताउने गरेता पनि आफ्ना पुरुष साथीहरूबाट हुने यौनजन्य दुर्व्यवहारबाट पूर्णतः उन्मुक्ति  पाउन भने सकेको  पाइदैन।  तथापि उनीहरू आफूले पुरुष साथीहरूबाट झेलेका यौनजन्य दुर्व्यवहारका बारेमा बाहिर बताउन वा बोल्न चाहँदैनन्।

कार्यस्थल भन्नाले के बुझिन्छ ?

कार्यस्थल भन्नाले कानूनी शव्दावलीमा कुनै निकाय संस्था वा फर्म सम्झनु पर्छ। र सो शब्दले त्यस्तो निकाय संस्था वा फर्मको कार्यसम्पादनको क्रममा प्रयोग हुने स्थल समेतलाई जनाउँछ।   ऐनले यसरी किटान गरि दिएकाले कार्यस्थल भन्नाले जुनसुकै ठाउँ हुन सक्ने स्पष्ट देखिन्छ। यस अनुसार (क) सरकारी निकाय (ख) नेपाल सरकारको पूर्ण वा आँशिक स्वामित्व भएको संगठित संस्था (ग) प्रचलित कानून बमेजिम स्थापना भएको निकाय वा संगठित संस्था (घ) कुनै व्यवसाय, कारोबार वा सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम अनुमति प्राप्त गरेको वा दर्ता भएको निकाय, फर्म वा संगठित संस्था जहाँसुकै पनि कार्यस्थल हुन सक्दछ।

यौनजन्य दुर्व्यवहार भनेको के हो ?

घरेलुहिंसा (कसुर र सजाय) ऐन, २०६६ को परिभाषा खण्ड ङ मा यौनजन्य यातना भन्नाले यौनजन्य प्रकृतिको दुर्व्यवहार अपमान हतोत्साह वा आत्मसम्मानमा चोट पुर्‍याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने काम भनी यौनजन्य दुर्व्यवहारलाई ईंगित गरिएको छ।

त्यसबाट प्रष्ट हुन नसक्ने र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणका विषयमा छुट्टै कानून बन्नुपर्ने महसुस गरी सुरक्षित स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई निवारण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ बनेर कार्यान्वयनमा आएको छ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा ४ मा कसैले आफ्नो पद शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहायका कुनै कार्य गरे वा गराएमा यौनजन्य दुर्व्यवहार गरेको मानिने कुरा उल्लेख छ :

१ यौनजन्य आशयले शरीरका कुनै अंगमा छोएमा वा छुने प्रयास गरेमा

२ अश्लिल तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द चित्र पत्रपत्रिका श्रब्य दृश्य अन्य सूचना प्रविधि साधन वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा

३ लेखेर बोलेर वा ईशाराले अश्लिल तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा

४ यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा

५ यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा ।

यौनजन्य दुर्व्यवहारमा हुने सजाय :

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा १२ मा यौनजन्य दुर्व्यवहार गरे उपर परेको उजुरीमा कसुरदार ठहरिएमा कसुरको प्रकृति हेरी ६ महिनासम्म कैद र पचासहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारका घटनाहरू किन बाहिर आउदैनन्?

ऐनले यौनजन्य दुर्व्यवहार भएकोमा उजुरी दिन सकिने तथा सो उपर छानबीन हुने र त्यस्ता घटनामा कसुरदारलाई कसुरको प्रकृति हेरी ६ महिनासम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कुरा उल्लेख भए पनि यस सम्बन्धमा नगण्य घटनाहरू मात्र प्रकाशमा आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *