काठमाडौं : अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो ।

सर्वसाधारणको तस्बिर छापिएकोले राष्ट्रिय फोटो पत्रकार समूहको सक्रियतामा झण्डै दुई दशकदेखि हरेक वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदैआएको छ ।

विसं. १९८४ वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा कपासको गुणका बारेमा एउटा आलेख छापिएको थियो । विविध विषयको ठिक मुनि “श्री चन्द्र कामधेनु चर्खा प्रचारका खेति विभागद्वारा प्रकाशित कपास खेतिको साधारण सूचना” भनी छापिएको थियो । त्यसको मुनी महिलाले चर्खाबाट धागो कातिरहेको तस्बिर छापिएको थियो र तस्बिरको मुनी “आफ्ना कपाशका बगैचामा ‘श्रीचन्द्र कामधेनुचर्खा’ द्वारा धागो काती रहेकी, वर्ष १२ को, वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठनी” भनी तस्बिरको विवरण (क्याप्सन) छापिएको थियो ।

नेपाली अखबारमा सबैभन्दा पहिले कुन तस्बिर प्रकाशित गरिएको थियो भन्ने बारेमा फोटो पत्रकार समूहले अध्ययनको जिम्मा स्वतन्त्र फोटो पत्रकार उषा तितिक्षुलाई दिएको थियो । अध्ययनपछि पहिलो तस्बिर गोरखापत्रमा प्रकाशित भएको र ‘फोटो क्याप्सन’ भएकै कारण १९८४ सालमा प्रकाशित तस्बिरलाई नै समाचारमूलक पहिलो तस्बिर भएको ठह¥यारिएको थियो । समूहले उहाँको निष्कर्षका आधारमा हरेक वैशाख १३ लाई फोटो पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो ।

स्वतन्त्र फोटोपत्रकार तितिक्षुले समाचारमूलक भएको र राणा शासनका बखत काठमाडौंभन्दा बाहिरका सर्वसाधारणको तस्बिर छापिएकोले धागो काती रहेकी महिलाको तस्बिर नै अखबारमा प्रकाशित पहिलो हो भन्दै थपे, “चन्द्रशमशेरको तस्बिरमात्र हो, तर सूर्यमतिको समाचारमूलक तस्बिर हो । फोटो पत्रकारिताका दृष्टिकोणले समाचारमूलक तस्बिरलाई प्रकाशित पहिलो तस्बिर मान्नु पर्दछ ।”

समूहका पूर्व अध्यक्ष विकास रौनियारले पनि चन्द्रशमशेरको फोटोग्राफीमात्र भएको र सूर्यमतिको फोटो पत्रकारिता भएको तर्क गर्दै भने, “अरु पत्ता नलाग्दासम्म गोरखापत्रमा प्रकाशित सोही तस्बिरलाई आधार लिनुपर्दछ ।” गोरखापत्रमा प्रकाशित तस्बिरका बारेमा अध्ययन गर्नुभएका राष्ट्रिय अभिलेखालयका सूचना अधिकारी कुमार श्रेष्ठ पनि यसबारे सहमत छन् ।

सूर्यमतिको तस्बिर कसले र कुन मितिमा खिचेको थियो भन्ने खोजकै विषय हो । चन्द्रकामधेनु चर्खा प्रचारका खेती विभागको सूचना भनिएकाले त्यसलाई विज्ञापन पनि भन्न सकिन्छ, तर तस्बिरमा ‘क्याप्सन’ उल्लेख भएको र त्यो बेला पत्रकारिताको विकास नभइसकेकाले त्यसलाई समाचारमूलक तस्बिर भन्न सकिने तर्क गरिएको छ ।

तिनताक गोरखापत्रमा भगवान शिवको चित्र हरेक अङ्कको दोस्रो पृष्ठको शिरानमा छापिन्थ्यो । दसैँका बेला दुर्गाको चित्र पनि प्रकाशित हुने गरेको थियो । वि.सं. १९८२ मा मोटरको विज्ञापनमा मोटरको चित्र छापिएको थियो । त्यसको एक वर्षपछि १९८३ साउन १८ गते पहिलो पृष्ठमा देश समाचार अन्तर्गत ‘सदर १ श्री ३ महाराजको जन्मोत्सव’ शीर्षकमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको तस्बिर छापिएको थियो । तिनताक साप्ताहिकरुपमा गोरखापत्र छापिने हुँदा साउन १७ गते परेको चन्द्र शमशेरको ६४ औँ वर्ष प्रवेशको समाचारलाई साउन १८ गतेको अङ्कमा छापिएको थियो ।

वि.सं. १९८५ जेठ २२ गते कलाकार मनहर वरबेको वाद्यवादन र गायनकलासम्बन्धी विज्ञापनमा ती कलाकारको तस्बिर छापिएको थियो । असार ५ गते ती कलाकारले बाजा बजाइरहेको तस्बिरसहितको समाचार छापिएको थियो । १९८५ साल साउनमा चन्द्रशमशेरको पूर्णआकृतिको तस्बिर छापिएको थियो । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *